काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवादित व्यापारीबाट पार्टी कार्यालय बनाउन घुसबापत जग्गा लिएको भन्दै उनलाई पक्राउ गरेर अनुसन्धानको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।
सिन्धुलीका युवराज पौडेल (सफल) ले २०८१ कात्तिक १ गते बिहीबार आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् ।
उनले दर्ता गराएको उजुरीमा भ्रष्टाचार निवारण ऐन–२०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।
देशकै प्रधानमन्त्रीले कानुन उल्लङ्घन गरेको उल्लेख गर्दै उनले उजुरीमा भनेका छन्– “सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुसबापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दा खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रालिका सञ्चालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन–२०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने ।”
भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ ।
उक्त विषय विवादमा परेसँगै एमालेले विभिन्न सञ्जालमा भइरहेको टिप्पणी खेदजनक भएको बताएको छ ।

