भक्तपुर । नेपाल पत्रकार महासङ्घको निर्वाचत आगामी मङ्सिर २८ गते प्रस्ताव गरिएको छ ।
महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षको २०८१ असोज १९ गते शनिबार मध्यपुरथिमिको बोडेमा सम्पन्न राष्ट्रिय भेलाले सो निर्णय गरेको हो ।
भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्नपछि महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।
भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यस्तै, सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहने गरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला आयोजना गरेको हो ।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्व केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य, डा. महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवम् प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।
