शंकर प्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठकमा राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार (असोज ४ गते) बुटवलमा सुरु भएको परिषद बैठक उद्घाटनपछि अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रतिवेदन पेस भएसँगै छलफल सुरु भएको छ ।
उक्त प्रतिवेदनसँगै शनिबार सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, संघर्षसम्बन्धी कार्यक्रम पेस हुनेछन् । ती सबै छलफल गरी शनिबार नै पारित गरिने महासचिव मनोज भट्टले जानकारी दिनुभको छ ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गारौँ, संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय परिषद बैठक सुरु भएको हो ।
राष्ट्रिय परिषदको बैठकले संघीयता तथा भ्रष्टाचारविरुद्ध संघर्षको योजना बनाउनुका साथै संगठन सुदृढीकरणको कार्यक्रम ल्याउने बताइएको छ ।
दुई दिनसम्म चल्ने परिषदको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै अध्यक्ष केसीले देशलाई प्रदेश संरचना बोझ दोहोर्याउनुभयो ।उहाँले खर्चिलो प्रदेश संरचनामा लगानी गर्ने पैसा उद्योगधन्दा, कलकारखाना स्थापना र कृषिमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
केसीले राष्ट्रिय जनमोर्चा सुरुदेखि नै संघीयताको विरुद्धमा रहेको भन्दै नेपाली जनताले बल्ल कुरो बुझ्न थालेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाले अब संघीयताविरुद्ध आन्दोलन छेड्ने संकेत गर्दै त्यसका लागि जनताको साथ मिल्नेमा आफूहरु ढुक्क रहेको केसीले बताउनुभयो ।
उहाँले देशमा भ्रष्टाचारर बढेको, बेरोजगारी बढेर हजारौं युवा विदेसिनुपरेको र दिनानुदिन नेपालीको लास बाकसमा आएको चर्चा गर्दै त्यसतर्फ शासक र सत्तासिन दलहरूको ध्यान नगएको बरु कसरी लुटेर देश खाने भन्नेतर्फ सत्तासिनहरू लागेकाले देशको अबस्था चिन्ताजनक भएको बताउनुभयो।केसीले नयाँ युवापिँढी युरोप, अमेरिका, क्यानडा र जापनतिर पलायन भएको उल्लेख गर्दै भारतबाट जनसांख्यिक अतिक्रमण बढेको बताउनुभयो । जनता अब पनि सचेत नभए देशको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा हुनेकेसीको धारणा थियो ।
फरक प्रशंगमा केसीले यो सरकारले सहकारी ठहरुलाई कारबाही गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पान्डे, नेकपा मसाल लुम्बिनी प्रदेशका अध्यक्ष तिलक जिसि, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल किसान संघका महासचिव तुल्सिराम सापकोटा, अखिल नेपाल महिला संघका अध्यक्ष लक्ष्मी बास्कोटा, अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवरले शुभकामना दिनुभएको थियो ।
यस्तै, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, जाती समता समाजका अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य राजेश विक, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष अमरध्वजज राना, अखिल नेपाल बुद्धिजीवि संघका दुर्गनाथ खरेल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरि प्रसाद बुढा, अखिल नेपाल कानुन व्यवसायी संघका सल्लाहकार काजिगाउँले श्रेष्ठ, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अखिल नेपाल शिक्षक संघका कमला बन्जाडे, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुन्डिराज शर्मा, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोख्रेल , प्रगतिशील लेखक संघका रामप्रसाद गैरे, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले पनि परिषद बैठकमा सफलताको शुभकामना दिनुभएको थियो।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन महासचिव मनोज भट्ट र स्वागत उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो ।





