काठमाडौं । अध्ययनका लागि दक्षिण कोरिया पुगेकी एक नेपाली युवतीको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको आइतबार निधन भएको हो ।
दक्षिण कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत सोनुको आइतबार (भदौ २ गते) निधन भएको इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालले जानकारी दिए । उनको निधनबारे परिवारले खबर पाइसकेको छ ।
६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको के कारणले मृत्यु भएको स्पष्ट भएको छैन । यद्यपी हृदयघातका कारण उनको निधन भएको खबर परिवारसम्म आइपुगेको छ ।
सोमबार शव पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टमको रिपोर्ट भने अस्पतालले दूतावासलाई दिइसकेको छैन।
उनको शव नेपाल पठाउनका लागि आफूहरूले पहल गरिरहेको पनि अध्यक्ष खनालले जानकारी दिए। शव ल्याउन १२ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए ।
सोनु ६ महिनाअघि गएको फेब्रुअरीमा विद्यार्थी भिसामा दक्षिण कोरिया गएकी हुन्।
उनका बुवा लिला कुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। मलेसियामा रहेका लिला कुमारको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो।
सोनुका परिवारमा अन्य तीन सदस्य छन्, आमा, भाइ र बैनी। एउटी दिदीको भने बिहे भइसकेको छ।

