काठमाडौं । अस्ट्रेलियामा तीन सातासअघि हराएका काभ्रेपलाञ्चोकका शुभाष बोलखे मृत भेटिएका छन् ।
अध्ययनका सिलसिलामा नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका पाँचखाल नगरपालिका–७ का २७ वर्षीय बोलखेको शव शनिबार (भदौ १ गते) समुद्री तटमा फेला परेको हो ।
सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको पाँचखाल नगरपालिकाले जनाएको छ ।
परिवारले दिएको जानकारी अनुसार उनी सुरुमा साथीहरूसँग बस्थे। पछिल्लो दुई महिनादेखि सुभाष एक्लै बस्दै आएका थिए।
उच्च शिक्षा अध्ययनका लागि गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलसहित परिवारका सदस्यले नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कसँग भेटेर खोजी गरिदिन आग्रह गरेका थिए।
सिड्नीस्थित प्रहरीले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह गरेको थियो।
त्यहाँको प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
काभ्रेपलाञ्चोकका सुभाष अस्ट्रेलियामा बेपत्ता, खोजबिन गर्न परिवारको आग्रह

