काठमाडौँ । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ छ हजार पाँच सय सात सर्किट किमि पुगेको हो ।
कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार एक सय ३६ सर्किट किमि र सबैभन्दा कम ६६ केभी पाँच सय १४ सर्किट किमि छ । ४०० केभी प्रसारण लाइन छ सय ४४ सर्किट किमि छ । आव २०७२/७३ सम्ममा दुई हजार नौ सय ११ सर्किट किमि मात्र प्रसारण लाइन थियो ।
आव २०७३/७४ मा तीन हजार तीन सय ६४, आव २०७४/७५ मा तीन हजार पाँच सय ३८, २०७५/७६ मा तीन हजार नौ सय ९० र आव २०७६/७७ मा चार हजार दुई सय ६९ सर्किट किमि प्रसारण लाइन थियो । त्यस्तै, २०७७/७८ मा चार हजार आठ सय ७४, २०७८/७९ मा पाँच हजार तीन सय २९ र २०७९/८० मा पाँच हजार सात सय ४२ सर्किट किमि प्रसारण लाइन थियो ।
ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभीए पुगेको छ । आव २०७२/७३ मा दुई हजार दुई सय २३ एमभिए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन रहेका छन्।
प्राधिकरणका अनुसार विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फपनि ठुलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किमि पुगेको छ ।
आव २०७२/७३ सम्ममा वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यतिवेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन एक लाख ५० हजार सर्किट किमि रहेको छ ।
वितरणतर्फको सबस्टेसनको क्षमता दुई हजार पाँच सय एमभिए पुगेको छ । वितरण सबस्टेसनको सङ्ख्या एक सय ९६ ओटा छ । आठ वर्षअघि सबस्टेसनको सङ्ख्या ८० ओटा मात्र थियो, क्षमता छ सय ४० एमभिए मात्र थियो ।