काठमाडौं । सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले सोमबार ल्याएका दुवै अध्यादेशको पार्टीभित्र र बाहिर चर्को विरोध र दबाबपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
बिहीबार नेकपाका ६ सचिवालय सदस्यको बैठक बसेर अध्यादेश फिर्ता नलिए स्थायी कमिटीमा लैजाने चेतावनी दिएका थिए । यसअघि नेकपाका २० स्थायी समितिले अध्यादेश फिर्ता लिन र तत्काल स्थायी समितिको बैठक बोलाउन माग गर्दै ओली र प्रचण्डलाई पत्र लेखेका थिए ।
यस्तै, प्रतिपक्षी दलले पनि अध्यादेश फिर्ता लिन माग गर्दै सरकारको कडा आलोचना गरेको थियो । कोरोना संक्रमणका कारण लकडाउनको अवस्थामा सरकारले अस्थिरता निम्त्याउने र लोकतन्त्रलाई कमजोर पार्ने खेल खेलेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।
चर्को दबाब पछि अध्यादेश फिर्ता लिन तयार भएका प्रधानमन्त्री ओलीले बिहीबार साँझ यसै विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

