काठमाडौँ । छ पत्रकार सङ्गठनहरूले निर्धारित समय जेठ २६ गते नेपाल पत्रकार महासङ्घको निर्वाचन सम्पन्न गर्ने वातावरण कायम गर्न माग गरेका छन् ।
२०८१ जेठ १९ गते शनिबार उनीहरूले संयुक्त प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।
गत वैशाख २१ र २२ गते सम्पन्न महासङ्घको सत्ताइसौँ महाधिवेशनले वैशाख मशान्तभित्र मतदाता नामावली बुझाउनुपर्नेमा नबुझाएको स्मरण गराउँदै वक्तव्यमा हालसम्म पनि निर्वाचन परिचालन समितिसमक्ष सो नामावली नपुगेको उल्लेख गरिएको छ ।
उनीहरूको ठहर छ– मतदाता नामावली तयार नभएकाले हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशन हुन नसकेको छैन ।
उनीहरूले पत्रकार महासङ्घको अद्यावधिक नामावली तत्कालै निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न, उक्त छुट नामावलीमा छुट भएका क्रियाशील पत्रकारको नाम समावेश गरी निर्वाचन समितिबाट प्रक्रियाबमोजिम नामावली प्रकाशन गर्न माग गरेका छन् ।
त्यस्तै, उनीहरूले पत्रकार महासङ्घको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्धामा सहकार्य गर्ने पनि बताएका छन् ।
वक्तव्यमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस युनियनका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस सङ्गठनका अध्यक्ष कमल बुढाको हस्ताक्षर रहेको छ ।
