काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आजको प्रतिनिधि सभा बैठकमा सत्तापक्षद्वारा जबर्जस्ती प्रस्तुत नीति तथा कार्यक्रमप्रति कुनै संशोधन नराखेको मात्रै होइन, सो छलफलमै सहभागी नभएको स्पष्ट पारेको छ ।
कतिपय सञ्चारमाध्यमले राजमोले नीति तथा कार्यक्रममा संशोधन राखेको र उक्त संशोधन बहुमलेत अस्वीकार भएको समाचार प्रकाशन गरेपछि राजमोले यस्तो स्पष्टीकरण दिएको हो ।
अध्यक्ष केसीका स्वकीय सचिव कृष्ण अधिकारीले २०८१ जेठ १३ गते आइतबार नै स्पष्टीकरण सार्वजनिक गर्दै राजमोले यस सम्बन्धमा थप प्रष्ट पारेको छ ।
यो पनि
नीति तथा कार्यक्रमप्रति राष्ट्रिय जनमोर्चाको विरोध तथा बहिष्कार
स्पष्टीकरणमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रविलाई जोगाउने तथा प्रतिपक्षलाई बाइपास गर्ने सत्तापक्षीय रवैयाका विरुद्ध राजमोले नीति तथा कार्यक्रमको छलफलमा भाग नलिएको बताइएको छ । साथै स्पष्टीकरणमा अध्यक्ष केसीले प्रतिनिधि सभाको आजको नीति तथा कार्यक्रमबारे कुनै संशोधन प्रस्तुत नगरेको पनि प्रष्ट पारिएको छ ।
यस्तो छ, स्पष्टीकरणको पूर्ण पाठ :
“सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद्मा राष्ट्रिय जनमोर्चालगायतका प्रतिपक्षी दलहरूले विरोध गर्दै आएको कुरा सर्वविदितै छ । सरकारले प्रतिपक्षको मागलाई सम्बोधन गर्नुको सट्टा गृहमन्त्रीलाई जोगाउने गरी नै व्यवहार गर्दै आएको परिणाम संसद् पनि अवरुद्ध भइरहेको छ ।
संसद्भित्र प्रतिपक्षको माग सम्बोधन नहुँदासम्म सरकारले संसद्मा प्रस्तुत गरेको कार्यसूचीउपर कुनै छलफल हुन सक्दैन । आज संसद्मा सरकारले मार्सल लगाई नीति तथा कार्यक्रममाथि छलफल सुरु गराउँदा सबै प्रतिपक्षीले आआफ्नो स्थानमा उठेर वा बेल घेरेर विरोध जनाएको कुरा सार्वजनिक भइसकेको छ । सरकारले संसद्मा छलफल गराउन खोजेको नीति र कार्यक्रममाथि भाग नलिने गरी माननीय चित्रबहादुर केसीले आफ्नो स्थानबाट विरोध गरेको कुरा स्पष्ट नै छ तर कतिपय राष्ट्रिय स्तरका समाचारमाध्यममा माननीय चित्रबहादुर केसीले “आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमउपर संशोधन प्रस्ताव राखेको” भनी समाचार प्रकाशित गरेको हुनाले त्यसबाट भ्रम सिर्जना हुन गएकाले स्पष्टीकरणका लागि यो विज्ञप्ति जारी गरिएको छ ।
आजको संसद् बैठकमा माननीय चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विषयवस्तुभित्र प्रवेश नगरेको, दलको विरोध हुँदाहुँदै उहाँलाई नीति तथा कार्यक्रमको संशोधन प्रस्तावउपर बोल्न सभामुखले रुलिङ गरेकोमा संशोधन प्रस्तावउपरको छलफलमा भाग लिने कुराको विरोध गर्दै सरकारको कार्यशैलीको कडा विरोध गर्नुका साथै आजको संसद्को बैठकमा कुनै छलफलमा माननीय चित्रबहादुर केसी सहभागी नहुनुभएको तथा संशोधन प्रस्तावसमेत नराखेको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछु ।”
