काठमाडौँ । हृदयघातबाट निधन भएका एक नेपालीको शव कुवेत नेपाली एकता समाजले नेपाल पठाएपछि परिवारजनले दाहसंस्कार गर्नुका साथै समाजलाई धन्यवाद दिएका छन् ।
दोलखा जिल्ला शैलुङ गाउँपालिका–२ घर भई कुवेतमा रोजगाररत ४७ वर्षीय हेमबहादुर तामाङको निधन भएपछि शव नेपाल पठाइएको हो ।
दाजु शुक्र तामाङले भन्नुभयो– ‘निरन्तर सम्पर्कमा रही भाइको शव नेपाल ल्याउन सहयोग र सहजीकरण गर्नुभएकोमा कुवेत नेपाली एकता समाज, कुवेतस्थित नेपाली राजदूतावास र राष्ट्रिय जनमोर्चालाई धन्यवाद व्यक्त गर्दछु ।’
मृतक तामाङ गत १८ वर्षयता कुवेतमा रोजगाररत थिए । उनको गत २०८१ जेठ ६ गते (मे १९) कुवेतमा निधन भएको थियो । उक्त दुःखद जानकारी पाएपछि कुवेत एकता समाजका महासचिव खुम रायमाझी र राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले शव नेपाल ल्याउन पहल गर्नुभएको थियो । यस कार्यमा कुवेतस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरेको थियो ।
सम्पूर्ण प्रक्रिया पूरा गरी स्मृतिशेष तामाङको शव जेठ १० गते नेपाल आइपुगेको थियो । मृतकका दाजु शुक्र तामाङसहित परिवारले शव बुझी काठमाडौँ बौद्धमा जेठ ११ गते दाहसंस्कार गरिएको थियो ।
मृतक तामाङको परिवारमा पत्नीसहित तीन छोरी रहनुभएको छ ।