बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले २०८१ सालको जेठ महिनादेखि विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
२०८१ वैशाख २२ गते शनिबार सम्पन्न राजमो बागलुङ जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।
अध्यक्ष तिलक थापाद्वारा जारी प्रेसविज्ञप्तिमा उक्त अभियानमा ४० हजार राजमोको सदस्यता वितरण गरिने तथा नयाँ स्थानमा सङ्गठन निर्माण गरिने उल्लेख छ ।
त्यस्तै, विज्ञप्तिमा सङ्घीयता खारेजीका लागि देशव्यापी अभियान सञ्चालन गरिने, विकास निर्माणमा ढिलासुस्तीका विरुद्ध आवाज उठाउने, सुशासनमा जोड दिने तथा खडेरी तथा आगलागी जस्ता बिपत्का विरुद्ध राजमो सक्रिय रहने जानकारीसमेत गराइएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको सातौँ पूर्ण बैठक बागलुङ बजारमा मिति २०८१ वैशाख २१ र २२ गते अध्यक्ष तिलक थापाको अध्यक्षतामा सम्पन्न भयो, जसमा भएगरेका निर्णय सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१. २०८१ जेठ महिनादेखि विशेष सङ्गठनात्मक अभियानअन्तर्गत सघन सदस्यता वितरण कार्यक्रम सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको छ, जुन अभियानमा बागलुङ जिल्लाव्यापी ४० हजार सदस्यता वितरण गरिने छ भने नयाँ स्थानमा सङ्गठन विस्तारमा जोड दिइने छ ।
२. राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि सङ्घर्ष गर्दै आइरहेको छ । त्यो सङ्घर्ष अहिले पनि कायमै छ । पछिल्लो चरणमा देशमा आर्थिक सङ्घीयता असफल भइसकेको छ, जसले गर्दा सरकारका कैयौँ आर्थिक कार्य पूरा हुन सकेका छैनन् । नागरिकबाट लिने कर तथा सेवा शुल्कमा असीमित वृद्धि हुनुका साथै राजस्व सङ्कलन घट्दो छ । यो अवस्थामा सङ्घीय व्यवस्था नेपालमा टिक्न सक्दैन । त्यसैले सङ्घीयता खारेजीको सङ्घर्षमा तत्काल प्रदेश खारेज गरी स्थानीय तहको विकास बजेट वृद्धि गर्नका लागि दबाबस्वरूप जिल्लाव्यापी सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
३. सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालनमा रहेका विकास निर्माणमा ढिलासुस्ती भएको छ । एकातर्फ, निर्माण कम्पनीको लापरवाह देखिन्छ भने अर्कोतर्फ, निर्माण कम्पनीले समयमा सम्पन्न गरेका योजनाको रकमसमेत भुक्तानी गर्न सरकारले सकिरहेको छैन । यसरी कैयौ महत्त्वपूर्ण योजना सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नुपरेको छ । नागरिकको दैनिक जीवनसँग जोडिएका खानेपानी, स्वास्थ्य संस्थाका भवन र सडक जस्ता दर्जनौँ विकास निर्माणका योजना समयमा सम्पन्न नहुँदा नागरिकले कष्टकर जीवन बिताउनु परेको छ । यस अवस्थामा विकास निर्माणलाई तदारुकतासाथ सम्पन्न गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यान आर्षण गराउनुका साथै आवश्यकताअनुसार सङ्घर्षमा समेत जोड दिन्छ ।
४. देशमा नीतिगत भ्रष्टाचार झन् बढेर गएको छ । विकास बजेटभन्दा चालु खर्चतर्फको बजेट अत्यन्तै बढिरहेको छ । नागरिकमैत्री सेवा प्रवाह हुन सकेको छैन । यस अवस्थामा नागरिकमैत्री सुशासन कायम हुनुपर्नेमा जोड दिन्छ ।
५. लामो समयदेखि पानी पर्न सकेको छैन । यसले गर्दा किसानहरूको काम प्रभावित बनेको छ । खडेरीका कारणले चारैतिर वातावरण कष्टकर बन्दै गएको छ । साथै जिल्लाका विभिन्न भागमा आगलागीका घटनासमेत बढेर गएका छन् । यसको रोकथाम र उचित व्यवस्थापनमा जिम्मेवार निकायको ध्यानार्षण गराउन चाहन्छौँ । प्राकृतिक बिपत्मा परी ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै प्राकृतिक विपत्तिमा आवश्यक सहयोगमा जुट्न पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई आह्वान गर्दछौँ ।”