काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले लोकतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि प्रतिगामीको मनोबल बढेको बताउनुभएको छ ।
नेकपा (मसाल) काठमाडौँ जिल्ला समितिको आयोजनामा २०८१ वैशाख १९ गते बुधबार राजधानीको शान्तिवाटिकामा तीन अभियान समापन, नेकपा (मसाल) को नवौँ महाधिवेशनको घोषणासभा र एक सय पैतिसौँ मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
‘लोकतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि देशमा गणतन्त्रको विरुद्धमा जनमत बढिरहेको छ’ उहाँले भन्नुभयो– ‘यसरी देशमा प्रतिगामीहरूको मनोबल बढिरहेको छ ।
उहाँले थप्नुभयो– ‘देशमा प्रतिगामीहरूको मनोबल बढिरहेको अवस्थामा देशकै भविष्य के हुने हो भन्ने प्रश्न उत्पन्न भएको छ ।’
‘देशमा सुनतस्करी हुन्छ, त्यसका आरोपी को हो ? देशमा नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइन्छ, त्यस्तो कसले गर्छ ? देशमा सहकारीका करोडौँ ठगी गर्नेलाई, कसले बचाउँछ ?’ उहाँले देशका कम्युनिस्ट भनाउँदामाथि नै प्रश्चचिह्न उठिरहेको बताउँदै भन्नुभयो– ‘यी सबै प्रकरणमा कम्युनिस्ट नै तानिएका छन् अर्थात् लोकतन्त्रका पक्षधर नै तानिएका छन् ।’
त्यस्तै, उहाँले देशमा केही हुन्न भन्ने भाष्य बनाएर पनि गणतन्त्रको विरुद्धमा वातावरण कायम गर्न खोजिएको बताउनुभयो ।
‘२०४६ सालमा प्रजातन्त्र आयो तर त्यसपछि बनेको सरकारले कलकारखाना विदेशीलाई बेच्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यस आधारमा देशमा केही हुन्न भन्ने भाष्य बनाइएको छ । त्यसैले दिनदिनै हजारौँ युवा विदेश पलायन भइरहेका छन् ।’
२००७ सालमा प्राप्त भएको प्रजातन्त्र २०१७ सालमा गुमेको, २०४६ सालमा गुमेको प्रजातन्त्र २०५७ सालमा गुमेको बताउँदै उहाँले गणतन्त्र संस्थागत भइनसकेकाले अहिले पनि लोकतन्त्र, गणतन्त्र गुम्न सक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।
‘लोकतन्त्र नहुँदा कस्तो हुन्छ ? त्यो त हामीले व्यहोरेर आएका छौँ’ उहाँले भन्नुभयो– ‘यदि अहिले देशमा लोकतन्त्र नभएको भए यतिका बेर यहाँ कुरा गर्न पाइन्थ्यो ? अहिलेसम्म गोली ठोकिसक्थे नि प्रहरीले ।’
उहाँले यो व्यवस्थाले जनताका सबै समस्या समाधान गर्ने नभए पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई बचाएर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वामपन्थी नेता आनन्द शर्माले मन्तव्य राख्दै नेकपा (मसाल) ले गत एक वर्षमा सम्पन्न गरेको तीन अभियानअन्तर्गतको कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार गत वर्ष २०८० सालको जेठ र असारमा प्रशिक्षण कार्यक्रम भएको, साउन, भदौ र असोजमा जनवर्गीय सङ्गठन विस्तार कार्यक्रम सम्पन्न भएको, मङ्सिर र पुसमा पार्टीको आन्तरिक सङ्गठनात्मक कार्यक्रम सम्पन्न भएको र माघदेखि चैतसम्म नवौँ महाधिवेशनसम्बन्धी कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरणको आवश्यकता औल्याउँदै उहाँले भन्नुभयो– ‘नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पूर्ण जनताको मुक्तिसँग जोडिएको हो ।’
उहाँले नेकपा (मसाल) विश्व समाजवादी व्यवस्था निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नवौँ महाधिवेशनको घोषणासम्बन्धी मन्तव्य राख्नुभएको थियो ।

उहाँले महाधिवेशनमा पारित प्रस्ताव, महाधिवेशनद्वारा राजनीतिक लाइन, केन्द्रीय समिति, पोलिटब्युरोलगायतका विषयमा जानकारी दिनुभएको थियो ।
उहाँले दाबी गर्नुभयो– ‘हामी साङ्गठनिक रूपमा सानो भए पनि गुणात्मक रूपमा चुस्तदुरुस्त छौँ ।’
राजनीतिक चेतना उच्च हुनासाथ मसालको भूमिका पनि उच्च, सशक्त र शक्तिशाली हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
‘हाम्रो पार्टी नै यस्तो पार्टी हो, जसले द्वन्द्ववादको व्यवहारमा प्रयोग गर्दछ’ पार्टीले द्वन्द्ववादको प्रयोग गरेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो– ‘चुनावको उपयोग र बहिष्कार, सरकारमा सहभागिता र सरकारको विरोध, सहकार्य र एकल सङ्घर्ष जस्ता सङ्घर्षका बेग्लाबेग्लै रूप प्रयोग गर्ने सन्दर्भमा नेकपा (मसाल) परिपक्व भइसकेको छ ।’
त्यस्तै, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले सिकागोको मजदुर आन्दोलनपछि नै विश्वमा श्रमलाई सम्मान गर्ने संस्कार स्थापित भएको बताउनुभयो ।

उहाँले मजदुरहरूको सार्वभौम अधिकारप्राप्तिको सङ्घर्षमा मे दिवसको गम्भीर अर्थ रहेको पनि बताउनुभयो ।
एवम् प्रकारले, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले मजदुर वर्गको चेतना स्तर उच्च बनाउन कम्युनिस्ट घोषणापत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल र विश्वभरिका मजदुरको अवस्था अहिले पनि चिन्ताजनक भएको बताउँदै उहाँले विश्व मजदुरको हक, हित र अधिकारको पक्षमा अन्टुकले सम्झौताहीन सङ्घर्ष गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतम, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर र अखिल नेपाल युवक सङ्घका सचिव डम्मर कार्कीको आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता मसालको ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहले र सञ्चालन मसालकै काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिमका महासचिव आश्रमले “अक्टोबर क्रान्तिलाई लालसलाम” शीर्षकको स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । 
