काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रोपटक मिर्गौला प्रत्यारोप हुँदैछ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि ओलीलाई सोमबार अस्पताल भर्ना गरिएको हो ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो । ओलीलाई उहाँकी भान्जी समीक्षाले मिर्गौला दान गर्दैछिन् ।
अप्रेसनका लागि प्रधानमन्त्रीई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको छ । उहाँलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको चिकित्सकले जनाएका छन् । शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल र डा मनीष प्रधानसँगै भारतीय डा अनन्त कुमार सहभागी हुने शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ ।