काठमाडौं । स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका भारत पन्जाबका अमृतपाल सिंह नेपालमा लुकेर बसेको आशंका गरिएको छ ।
भारतीय प्रहरीले सीमाक्षेत्रमा उनको खोजी ब्यापक बनाएको छ भने नेपालमा निगरानी बढाउन आग्रह गरेको छ ।
१८ मार्चबाट फरार सिंहको खोजी पन्जाबसहित नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डको उद्यमसिंहनगर र पिथौरागढसम्म भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालस्थित भारतीय राजदूतावासले उनी नेपालमै हुनसक्ने आशंका गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको सार्वजनिक भइसकेको छ।
पन्जाबको खुफिया एजेन्सीले भने सिंहको अन्तिम लोकेसन नेपालमा भएको दाबी गरेको छ । प्रहरीको टोली पुगिसकेको र नेपाल प्रहरीको सहयोगमा केही स्थानमा छापा मारेको दाबी पनि गरिएको छ। उनी नेपाल भएर विदेश उड्न सक्ने भन्दै सहयोगको आग्रहसमेत गरिएको छ।
भारत सरकारको अनुरोधमा नेपाल भित्रिने र बाहिरिने नाका, होटल र प्रहरी चौकीहरुमा सिंहको हुलिया पठाइएको बताइएको छ।
सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो। भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन। विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए।
३० वर्षीय अमृतपाल सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।
त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ। यसै साता बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए।
यसैबीच अमृतपाल आत्मसमर्पण गर्न तयार रहेको खबर बाहिरिएको छ। त्यसका लागि उनले तीनवटा सर्त राखेका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार प्रहरी हिरासतमा कुटपिट नगर्न, पन्जावकै जेलमा राख्ने व्यवस्था मिलाउन र आत्मसमर्पणलाई पक्राउ नभन्न उनले सर्त राखेका हुन् ।