काठमाडौं । राष्ट्रिय जनमोर्चाले पछिल्लो समयमा देखा परेको कोरोना भाइरस नियन्त्रणका लागि समयमै पहल गर्न सरकारसँग माग गरेको छ । चीनबाट सुरु भएको यो रोग विश्वका कैयौं देशसँगै नेपालमा पनि देखा परेको छ ।
आइतबार राजमो उपाध्यक्ष एवं प्रवक्ता सांसद दुर्गा पौडेलले एक वक्तव्य प्रकासित गरी रोगबारे उच्च सतर्कता अपनाउन आम जनता र सरकारसँग आग्रह गर्नुभएको छ । कोरोना भाइरसले अत्यन्त भयावह रूप लिने खतरा उत्पन्न भएको भन्दै नियन्त्रणका लागि सरकारलाई दबाब दिन राजमोले आम जनसमुदायसँग अपिल पनि गरेको छ ।
वक्तव्यमा भनिएको छ, ‘कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि सुरु भएको छ । चीनमा सुरु भएको यो रोग विश्वका कैयौँ देशमा फैलिन थालेको देखिन्छ । त्यसको असरबाट नेपाल पनि बचेन । त्यसकारण त्यसको नियन्त्रणका लागि आम जनता र सरकारमा समेत उच्च शतर्कता आवश्यक हुन गएको छ ।
वास्तवमा कोरोना भाइरसले अत्यन्त भयावह रूप लिने खतरा उत्पन्न भएको छ । खास गरेर स्वास्थ्यसम्बन्धी आवश्यक उपचार र उपकरण समेतको अत्यन्त कमी भएको देशमा त्यसको खतरा झन् गम्भीर हुने सम्भावना छ । त्यसकारण त्यसको रोकथामका लागि सरकारले समयमा नै ध्यान दिनुपर्ने आवश्यकतामा राष्ट्रिय जनमोर्चाले विशेष जोड दिन्छ ।
त्यसका साथै सबै राजनीतिक दल, संंघसंस्थाहरूले पनि त्यसका लागि जनदवावको सृजना गरेर सरकारलाई उक्त रोगको नियन्त्रणका लागि आवश्यक र प्रभावशाली कदम उठान दवाव दिनुपर्ने आवश्यकता छ । त्यसरी नै हामीले त्यो रोगलाई व्यापक रूप लिने खतराबाट बचाउन सक्ने छौँ ।’