काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेकपा (एकीकृत समाजवादी) की नेत्री यमुना भुसालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
अर्घाखाँचीका भुसालको उपचारका क्रममा निधन भएको हो । उहाँले लामो समयसम्म नेकपा (मसाल) मा आवद्ध भएर काम गर्नुभएको थियो ।
महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक विज्ञप्ति प्रकाशित गरी भुसालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
शोक विज्ञप्तिमा भनिएको छ, ‘का. यमुना भुसालको मृत्यप्रति गम्भीर दुःख प्रकट गर्दै हामीले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. भुसालले लामो समयसम्म हाम्रो पार्टीको सदस्य रहेर काम गर्नु भएको थियो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय संगठन र मोर्चामा रहेर पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ जुझारु र संघर्षशील महिला नेतृ हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँ हाम्रो पार्टीबाट अलग हुनुभएको थियो । उहाँ आफ्नो जीवनभरि नेपालको कम्युनिस्ट आन्दोलनभित्र नै सक्रिय हुनुभयो । उहाँको मृत्युबाट नेपालको महिला मुक्ति आन्दोलनका साथै कम्युनिस्ट आन्दोलनलाई समेत गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’
२०७९ पौष ०८ गते ।
मोहनविक्रम सिंह
महामन्त्री