धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार ग्रेडरले बालिकाको मृत्यु भएपछि धनगढी तनावग्रस्त बनेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आज (बिहीबार) साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म भेला, प्रदर्शन, घुमफिर, सवारी साधन सञ्चालन लगायतका गतिविधि गर्न निषेध गरेको हो ।
प्रशासनले सूचना जारी गरी पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलवारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन, दक्षिणमा धनगढी उपमहानगरपालिका– १ र २ स्थित हुलाकी राजमार्ग क्षेत्रमा प्रदर्शन तथा घुमफिर गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी सूचनामा आदेशको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । विद्यार्थीको मृत्युपछि धनगढीमा विद्यागीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उक्त छात्रा पढ्ने विद्यालयका विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारेका हुन् । उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए ।
