प्युठान । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीले गठबन्धन दलबीच मत ‘ट्रान्सफर’ हुने कुरामा कुनै समस्या नरहेको बताउनुभएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँगको भेटमा एमसीले पाँचदलीय गठबन्धन दलबीच प्युठानमा कुनै समस्य नरहेको पनि स्पष्ट पार्नुभयो ।
माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहेका एमसीले केन्द्रको निर्णय लागू गराउने सन्दर्भमा आफ्नो प्रतिवद्धता रहेको र विगतको गल्ती नदोहोर्याउने पनि स्पष्ट पार्नुभयो ।
महामन्त्री सिंहसँगै रहेका एक नेताले दिएको जानकारी अनुसार एमसीले आफ्ना कतिपय मतभिन्नताका बाबजुद केन्द्रको निर्णय लागू गर्ने र विगतको गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
‘हाम्रा कतिपय मतभेदहरु छन् । तर, पार्टीको निर्णय लागू गर्ने सन्दर्भमा बिगतको कमजोरी दोहोरिँदैन । गठबन्धनका उम्मेदवारलाई जिताउन माओवादीको जिल्ला इन्चार्जको हैसियतले मेरो भूमिका रहन्छ’ एमसीको भनाई उदृत गर्दै ती नेताले भने ।
महामन्त्री सिंह र एमसीबीच चुनाव प्रचारको शिलशिलामा उहाँकै निवास झिमरुक गाउँपालिका–२ बाँदिकोटमा भेट भएको थियो ।
गएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको निर्णयबिपरित झिमरुकमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो । एमालेसँगको तालमेलबाट एमसी अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
तर, उपाध्यक्षमा भने एमालेका उम्मेदवारले जितेनन् । राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसबीच भएको तालमेलबाट उपाध्यक्षमा कांग्रेसका प्रमोद पाख्रेल निर्वाचित हुनुभएको थियो ।
माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिले पार्टी नीति विपरित गएको भन्दै एमसीलाई कारबाही गर्ने विज्ञप्ति सार्वजनिक गरेको थियो ।
प्युठानमा हरेका पालिका र वडामा संयुक्त टोली बनाएर चुनाव प्रचार भइरहेको नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंहले जानकराी दिनुभयो । पाँचदलीय गठबन्धनका नेता कार्यकर्ताबीच सौहाद्र्धता रहेको र सबै पार्टीका कार्यकर्ताहरु प्रचार अभियानमा सँगसँगै रहेको प्रवक्ता सिंहले बताउनुभयो ।
निर्वाचन आचारसंहिताका कारण जननिर्वाचित प्रतिनिधिहरु भने चुनाव प्रचारमा प्रत्यक्ष सहभागी हुन पाउँदैनन् ।





