काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिद्वारा परिचालित समानुपातिक प्रचार अभियानले पर्वतको बिहादी गाउँपालिकामा सभा सम्पन्न गरेको छ ।
२०७९ कात्तिक २५ गते बिहान बिहादी गाउँपालिकाको बराचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तात्कालिक राजनीतिक आवश्यकता रहेको बताउनुभयो ।
प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै उहाँले अगाडि भन्नुभयो– ‘समानुपातिकतर्फ भने सम्पूर्ण जनताले राष्ट्रिय जनमोर्चालाई भोट हाल्नुपर्दछ किनकि राजमो मात्रै देशको सही राजनीतिक पार्टी हो ।’
उपाध्यक्ष शर्माले ठुलो सङ्ख्यामा राजमोका जनप्रतिनिधिहरू संसद्मा पुगे मात्रै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा हुने तथा सङ्घीयता खारेजीको आन्दोलनमा मदत पुग्ने दाबी पनि गर्नुभयो ।
राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले समेत सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा राजमोका अर्का केन्द्रीय सदस्य तारा थापा र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको पनि आतिथ्य रहेको थियो ।
दिवाकर पराजुलीको अध्यक्षतामा अघि बढेको सभाको सञ्चालन रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले गर्नुभएको थियो ।
अभियान टोलीले केही बेरमा गुल्मी कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सभा गर्दै छ ।
टोली आज पुर्तिघाटमै बास बसेर भोलि कात्तिक २६ गते कास्कीको पोखरा कार्यक्रम गर्ने योजना रहेको किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिनुभयो ।
