अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौं केन्द्रित ‘संघीयताविरुद्ध काठमाडौं मार्च’ अभियान सञ्चालन गर्ने भएको छ। संघीयता विरुद्ध आन्दोलनको तयारी गदै आएको अखिल (छैठौं) को हालै बुटवलमा सम्पन्न बैठकले कार्यक्रमको मिति घोषणा गरेको हो।
बहुचर्चित संघीयता विरुद्धको विद्यार्थी मार्च कार्यक्रमको तयारीका लागि यसअघि विभिन्न जिल्लामा भेला तथा बैठकहरु सम्पन्न भएका छन् । त्यसै क्रममा प्रदेश नं. १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लास्तरीय तयारी भेलाहरु सम्पन्न भइसकेका छन् । छिटै ३ नम्बर र गण्डकी प्रदेशका तयारी भेलाहरु सम्पन्न गर्ने अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभएको छ ।
अध्यक्ष पोखरेलद्वारा बुधबार जारी वक्तव्यमा कार्यक्रमबारे जानकारी दिनुका साथै बैठकले गरेका थप निर्णयहरुबारे समेत स्पष्ट पारिएको छ ।
वक्तव्यको पुर्णपाठ : ‘अखिल (छैठौं) केन्द्रीय समितिको छैटौं पूर्ण बैठक २०७६ पुस १५ गते बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ ।
१. संघीयताले देशलाई धेरै कमजोर बनाउँदै लगेको छ । संघीयता खारेजी आजको प्राथमिक आवश्यकता हो । संघीयता खारेजीको आन्दोलनलाई अझै उचाइमा पु¥याउनुपर्ने आवश्यकता छ । अखिल (छैठौं)ले २०७६ चैत १ गतेदेखि ५ गतेसम्म ‘संघीयताविरुद्ध काठमाडौं मार्च’ सञ्चालन गर्ने निर्णय गरेको छ । संगठनको सम्पूर्ण शक्ति काठमाडौं मार्चको तयारीमा लाग्ने निर्णय भएको छ । प्रदेश नं. १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लास्तरीय तयारी भेलाहरु सम्पन्न भइसकेका छन् । छिटै ३ नम्बर र गण्डकी प्रदेशका तयारी भेलाहरु सम्पन्न गर्ने निर्णय भएको छ ।
२. ‘संघीयताविरुद्ध काठमाडौं मार्च’को लागि पर्चा, पोष्टरहरु तयार गर्ने, भित्ते लेखन गर्ने, स्कुल, क्याम्पस, विश्वविद्यालय, गाउँपालिका, वडास्तरसम्म तयारी समिति गठन गर्ने र प्रचारप्रसारलाई व्यापक बनाउने निर्णय भएको छ । सम्पूर्ण विद्यार्थी र जनसमुदायलाई काठमाडौं मार्चमा सहयोगको लागि आह्वान गर्दछौं ।
३. स्ववियु निर्वाचन २०७६ फागुन १४ मै गर्न अखिल (छैठौं)ले जोड दिन चाहन्छ । स्ववियु निर्वाचनलाई शैक्षिक निजीकरण, व्यापारीकरण र संघीयताका विरुद्धको संघर्षको लागि उपयोग गर्ने निर्णय भएको छ । स्ववियु निर्वाचनमा जातिवादी, क्षेत्रीयतावादी, राजावादीबाहेक अन्य विद्यार्थी संगठनसंग तालमेल गरेर जान सकिनेछ ।
४. ‘संघीयताविरुद्ध काठमाडौं मार्च’ तयारीको लागि कर्णाली प्रदेश इन्चार्जमा हरि बुढालाई जिम्मा दिइएको छ । केन्द्रीय सदस्य लक्ष्मी बेलबासेले दिनुभएको राजीनामा स्वीकृत गरी रिक्त केन्द्रीय सदस्यमा इन्द्रमणि पाण्डे (बाग्लुङ)लाई नियुक्ति गरिएको छ ।
५. भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर जाली नक्सा प्रकाशित गरेको छ । अखिल (छैठौं) उक्त जाली नक्सा खारेज गर्न, नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्न र मिचिएको सम्पूर्ण जमीन फिर्ता गर्न माग गर्दछ ।’