काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला पार्टीको कार्यदिशा तय गर्न प्रतिवेदन लेखनमा ब्यस्त छन् । मंसिर २९ र ३० मा बस्ने स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रतिवेदन लेखनका लागि प्रचण्ड व्यस्त रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रोचक कुरा त के छ भने, तत्कालीन एमाले–माओवादी एकतापछि बनेको नेकपाले ‘जनताको जनवाद र अधिकतम लक्ष्य समाजवाद’ लाई वैचारिक कार्यदिशा तय गरेको थियो । तर, कार्यकारी अध्यक्ष भएपछि लिखित प्रतिवेदनसहित बैठकको अध्यक्षता गर्न लागेका प्रचण्डले नेकपाको अबको कार्यदिशा ‘वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने’ प्रस्ताव गरेका छन् ।
यो निश्चय नै खुशीको कुरा हो कि, निकै ठुलो जनमत प्राप्त वामपन्थी दलले आफ्नो लक्ष्य ‘साम्यवाद’ लाई बनाएको छ । न्युनतम समाजवाद हुँदै अधिकतम साम्यवादसम्म पुग्ने कम्युनिष्टहरुको रणनीति नै हो । त्यसबिचमा तत्कालिन परिस्थिपित अनुसार ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टीले कार्यनीति तय गर्छ ।
तर, सत्तारुढ नेकपाले आफ्नो लक्ष्य ‘साम्यवाद’ तय गरिरहँदा त्यसलाई जनताले सहजै पत्याइदिने अवस्था भने छैन । वास्तवमा नेकपाको संगठन, अनुशासन र आचरणमाथि साम्यवादी लक्ष्य ‘काशी जाने कुत्तीको बाटो’ मात्रै हो ।’

प्रचण्डका घरभेटी शारदा अधिकारीले बाटो अलपत्र पारेपछि विरोध गर्दै ललितपुरका जनताले टाँगेको उनको फोटो
सर्वप्रथम त कुनै संगठन ‘कम्युनिष्ट’ बन्न केही न्युनतम सैद्धान्तिक आधारहरु हुन्छन् । सत्तारुढ नेकपाले ति न्युनतम सैद्धान्तिक आधार नै गुमाइसकेको छ । त्यसकारण त्यो पार्टी कम्युनिष्ट पार्टी होइन । बरु वामपन्थी, प्रगतिशील तथा जनतान्त्रिक शक्ति हो । जसको स्वभाव ढुलमुल र अवसरवादी हुन्छ । त्यसको चरित्र निम्न पुँजीवादी प्रकारको छ । जसले अवसरहरुको उपयोग गर्दै सुख सुविधा खोज्ने गर्दछ ।
त्यसका कैयौं प्रमाण र उदाहरणहरु छन् । नेताहरु कार्यकर्ता र जनता भन्दा कैयौं गुणा माथिको जीवन शैली बाँचिरहेका छन् । उनीहरुको संगत भ्रष्ट ब्यापारी, उद्योगपति तथा दलाल र विदेशी एजेण्टहरुसँग छ ।
अनुशासनका दृष्टिकोणले सत्तारुढ नेकपा एउटा ठुलो भिड हो । जहाँ विभिन्न गुट तथा उपगुटहरु क्रियाशिल छन् । आफ्नो गुटलाई माथि देखाउन फरक गुटमाथि सार्वजनिक रुपमै अराजनैतिक प्रहार गर्नु वा आक्षेप लगाउनु त्यहाँभित्रको सामान्य पद्धति हो । त्यसको पछिल्लो उदाहरण हालैमात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पूर्व माओवादी समूहलाई लक्षित गरी लेखेका स्ट्याटस र जवाफमा पूर्व एमाले समूहमाथि लगाइएका आरोपहरुको सृंखला हेरे पुग्छ ।
थापाले कान्तिपुरमा गंगा विसीको लेखलाई सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका थिए,
‘यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्व विद्रोही नेता प्रचण्ड । एमाले र एमाओवादी चुनावी एकतापछि संसद्मा करिब दुई तिहाइ नजिक सिट जिते । संसद्को निर्वाचनलगत्तै पार्टी एकता भएन । कारण थियो, ओली र प्रचण्डबीच शक्ति बाँडफाँटको संघर्ष । चुनावमा एकता भयो, परिणामपछि संघर्ष । दुई नेताबीच एकता र संघर्ष जारी रह्यो । अन्ततः संसद् चुनाव भएको करिब ६ महिनापछि पार्टी एकता भयो । अरू सबै काम बाँकी राखेर दुई अध्यक्ष भएको पार्टी भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पूर्वएमालेले ६० प्रतिशत र पूर्वमाओवादीको ४० प्रतिशत बाँडफाँट गरी संसद्को चुनावमा उम्मेदवार तय भएको थियो । त्यही आधारमा पहिलो नम्बरको अध्यक्ष ओली र दोस्रो नम्बरको अध्यक्ष प्रचण्ड हुने सहमति भयो ।’
सुर्य थापाको स्ट्याटसविरुद्ध लेखिएका प्रतिक्रियाहरुमा गाली गलौजको लामो सृंखला छ । जसले नेकपाका कार्यकर्ताहरुको सैद्धान्तिक स्तरलाई बुझाउँछ । नेकपानिकट युवा संगठनका संयोजक रामप्रसाद आचार्य ‘दिपशिखा’ लेख्छन्, ‘तिम्रो भाषा र शैली हेर्दा ३ कक्षा भर्ना गरेर नैतिक शिक्षा पढाउन पर्ने देखियो !’

पूर्व माओवादी समूहको फेसबुक र ट्विटर आक्रमणपछि पनि प्रधानमन्त्रीका सल्लाहकार थापा रोकिएनन् । उनले फेसबुकमै थपे, ‘मेरो स्टाटस हो कि अरूको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू? छिः छिः ! मान्छे बन्न कति गाह्रो परेको तिनलाई ?’
सुर्य थापा तिनै ब्यक्ति हुन् जसले हालैमात्र कृष्णसेन ईच्छुक पुरस्कार थापेका थिए । पूर्व माओवादीका कट्टर विरोधी थापालाई सायद उनको क्षमता र उपयुक्तता भन्दा पनि पूर्व माओवादी समूहको विरोध र आलोचना नगरुन् भनेरै कृष्णसेन ईच्छुक पुरस्कार दिइएको थियो ।
नेकपामा अनुशासनहिनताको लामो सृंखला छ । हालैमात्र त्यो पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश २ का ईन्चार्ज प्रभु शाहले मन्त्री बन्ने आकांक्षा पुरा नभएपछि पार्टी नेतृत्वमाथि ‘लेनदेनका आधारमा मन्त्री पद बाँडफाँट गरेको’ गम्भीर आरोप लगाएका थिए । यसखालका अनुशासनहीन गतिविधिका लागि त्यहाँ कुनै छानविन वा कारबाही हुँदैन । बरु नेताहरु नै धम्कीको भाषा प्रयोग गर्छन ।
शाहको स्ट्याटसमा धम्किपुर्ण प्रतिक्रिया दिँदै अर्का नेता बिष्णु रिजालले फेसबुकमै रौतहटका काशी तिवारी हत्याको फाइल खोलिदिने चेतावनी दिएका थिए ।

यी त केही उदाहरण मात्रै हुन् । नेकपाको संगठनमा भएको अराजकता र अनुशासनहीनताको । दुई पार्टी मिलेको नेकपाले अझै पुर्णता पाएको छैन । कयौं जिल्लामा पार्टी एकताका क्रममा भएका ‘हानहान’ का घटनाले कतिपय कार्यकर्तालाई अस्पतालसम्मै पुगाएको छ ।
न त, नेकपाका नेताहरुमा त्यसखालको आचरण छ, जसलाई कम्युनिष्ट भन्ने नैतिक अधिकार देओस् । यो कुनै आरोप होइन, बरु छर्लङ्ग देखिएका आचरणहरु हुन् र उनीहरुकै कार्यकर्ताले लगाउने गरेका आरोप हुन् कि, पार्टीका नेताहरुको संगत दलाल, पुँजीपति, विदेशी एजेण्ट तथा नाफखोरहरुसँग छ । जसलाई प्रयोग गरेर नेताहरु रातारात धनी भइरहेका छन् । तल्लो तहका कार्यकर्ता र जनताको हालत बरु बिग्रँदै गइरहेको छ । कार्यकर्ताले आदर्श मानेका नेताहरु र उनीहरुबीचको खाडल पुरिनै नसकिने गरी गहिरो छ ।
तैपनि, मूलतः सबै कुराको फैसला पार्टीको सिद्धान्तले गर्छ । काम्र्सवादी लेनिनवादी सिद्धान्तलाई आधारभुतरुपमै त्यागेको नेकपाले ‘साम्यवादी’ लक्ष्य राख्नु रमाइलो मजाक हुनसक्छ ।