काठमाडौं । विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुले सहमति जनाएका छन् । मंगलबार राति शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको वार्तामा मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट असुलेका अतिरिक्त शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सहमतिअनुसार आज (बुधबार) देखि नै शुल्क फिर्ता प्रक्रिया सुरु हुनेछ। सहमतिअनुसार शैक्षिक वर्ष ०७४र७५ र ०७५र७६ मा सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले फिर्ता वा समायोजन गर्ने भएका छन्। दुवै शैक्षिक वर्षमा मेडिकल कलेजले विद्यार्थीसँग बैंकिङ प्रणालीबाट रकम लिएका थिए।
शैक्षिक वर्ष ०७२/७३ र ७३/७४ का लागि सम्बन्धित विश्वविद्यालयसँगको समन्वयमा अतिरिक्त शुल्क लिएको वा नलिएका विषयमा चिकित्सा शिक्षा आयोगबाट अध्ययन गर्ने सहमति भएको छ। यस्तै शैक्षिक वर्ष ०७६/७७ का लागि भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार विद्यार्थी भर्ना प्रक्रिया गर्न र वैज्ञानिक ढंगबाट शुल्क निर्धारण गर्न दुवै पक्ष सहमत भएका छन्।
सहमतिपत्रमा शिक्षा मन्त्रालयका अधिकारी तथा मेडिकल कलेजका सञ्चालकहरूले हस्ताक्षर गरेका छन्।
सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न बारम्बार ताकेता गरे पनि मेडिकल कलेज सञ्चालकहरुले अटेरी गर्दै आएका थिए । तर, यसअघि दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि कलेज सञ्चालकहरुलाई पक्राउ गरी थुनेर कारबाही गर्ने चेतावनी पछि उनीहरु शुल्क फिर्ता गर्न सहमत भएका हुन् ।


