काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।
कोभ्याक्सअन्तर्गत अमेरिकाले नेपाललाई दिएको कोरोनाविरुद्धको फाइजर खोप १ लाख ६ सय २० डोज काठमाडौं आएसँगै अब १८ वर्ष मुनिकालाई पनि खोप लगाइने भएको हो । अमेरिकाले दिएको फाइजर खोप सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
यो खोप १८ वर्ष मुनि तथा १२ वर्षमाथिका बालबािलकालाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोप सीमित भएकाले तत्काललाई १२–१८ वर्ष समूहका दीर्घरोगीलाई मात्र दिइने छ । पछि थप खोप आएपछि यस समूहका सबैलाई लगाउन सुरु गर्ने योजना सरकारको छ ।
अमेरिकाका फाइजर र बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप अमेरिकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाले लगाइसकेका छन्। फाइजर–बायोएनटेक कम्पनीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा गरिएको कोरोना खोपको परीक्षण पनि सफल भएको जानकारी दिएको छ।
कम्पनीका अनुसार उक्त उमेर समूहको क्लिनिकल परीक्षणले खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी भएको पुष्टि भएको छ।