काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि वितरण गर्ने भएको छ ।
Advertisement
यसअघि मन्त्रालयको आयोजनामा प्रत्येक वर्ष कात्तिक ३ र ४ गते यी औषधि वितरण हुने गरेको थियो ।
अहिले दसैँको अवधि परेकाले त्यसलाई केही पर सारेर कात्तिक ७ र ८ गते औषधि वितरण गर्न थालेको हो ।
मन्त्रालयले भिटामिन ए क्याप्सुल छ देखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एकदेखि पाँच वर्षमुनिका बालबालिकालाई वितरण गर्दै छ ।
त्यसैगरी, सोही दिन बालभिटा कार्यक्रम लागु भएका जिल्लामा १५ देखि २५ वर्षकालाई बालभिटा पोषण पनि वितरण गर्ने जानकारी दिइएको छ ।
मन्त्रालयले आजै सूचना जारी गर्दै औषधि लिन आउँदा सही तरिकाले मास्क लगाउन, कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न, साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सर्वसाधारणसित आग्रह गरेको छ ।