काठमाडौँ । अक्टोबर महिनालाई विश्वव्यापी रूपमा स्तन क्यान्सर विरुद्ध सचेतना अभियानको रूपमा मनाउने परम्परानुुसार नेपालमा पनि २०७८ असोज १५ गते सो कार्यक्रमको उद्घाटन गरिएको छ ।
नेपाल अर्बुद रोग विजेता समाजको आयोजनामा अक्टोबर १ (असोज १५) गतेका दिन बुढानीलकण्ठ नगरपालिकास्थित नारायणस्थानमा बिहान ७ बजे बागमती प्रदेशका सांसद दीपक निरौला र क्यान्सर विशेषज्ञ डा. अरुण शाहीद्वारा संयुक्त रूपमा कार्यत्रमको उद्घाटन गरिएको थियो ।
गलत प्रकारको जीवनशैलीका कारणले स्तन क्यान्सरलगायतका विभिन्न प्रकारका क्यान्सर रोग झनै जटिल हुँदै गइरहेको उद्घाटनको क्रममा डा. अरुण शाहीले बताउनुभयो ।
उहाँले अगाडि क्यान्सर रोगको सम्बन्धमा विभिन्न भ्रमप्रति प्रष्ट हुँदै गएमा यो रोगमाथि विजय प्राप्त गर्न सकिने उहाँको तर्क थियो ।
अहिले पनि नेपालमा क्यान्सर रोगप्रति हेलचेक्र्याइँ हुँदा दैनिक पाँच जना महिलाको मृत्यु हुने गरेको बताउँदै उहाँले सचेतना अभियानलाई व्यापक रूपमा फैलाउने हो भने यस प्रकारको भयावह स्थितिलाई कम गर्न सकिने धारणा राख्नुभयो ।
अक्टोबर महिनाभरि चल्ने स्तन क्यान्सर सचेतना अभियानलाई शुभकामना दिँदै प्रदेश सांसद दीपक निरौलाले राज्यस्तरबाट पनि क्यान्सर सर्भाइबरलाई विभिन्न प्रकारले सहयोग र समर्थन रहँदै आएको तथा यसलाई अझ व्यापक रूपमा बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
आफू स्वयम् विभिन्न पीडासँग जुध्दै जीवनलाई अगाडि बढाइरहेको भए पनि थुप्रै क्यान्सर सर्भाइबरलाई विभिन्न प्रकारले सहयोग गर्न निरन्तर लागिरहने संस्थाकी अध्यक्ष प्रमिता खनालले बताउनुभयो ।
आजै उद्घाटनको अवसरमा बुढानीलकण्ठमा चल्ने बसमा क्यान्सर सचेतनासम्बन्धी ब्यानर, स्टिकर राखेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कोरोना महामारीले गर्दा धेरै भिडभाड हुने जुलुस, र्याली जस्ता कार्यक्रम सम्भव नभए पनि विभिन्न रचनात्मक कार्यक्रमसहित अक्टोबर महिनाभरि चल्ने सचेतना कार्यक्रमलाई भव्य र शानदार रूपमा सम्पन्न गर्ने आयोजक संस्थाकी कोषाध्यक्ष बिनु केसीले बताउनुभयो ।
