काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर सक्रिय संक्रमित २० हजार २८७ रहेका छन् । संक्रमण दर १९ प्रतिशत रहेको छ । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् । ५ सयभन्दा बढी संंक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५५० जना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या सात लाख ५८ हजार ५०४ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.०३ प्रतिशत रहेको छ ।
यस्तै संंक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ८१ जनाको निधन भइसकेको छ । हाल देशभर ३४७ सघन उपचार कक्ष (आइसीयू), १०५ भेन्टिलेटर, १८ हजार ९६९ होम आइसोलेसन, एक हजार ३१८ संस्थागत आइसोलेसन र २४४ जना क्वारेन्टिनमा रहेका छन् ।
आज कोरोना भाइरस विरुद्धको खोप एक लाख ७२ हजार ५९० जनाले लगाएका छन् । अहिलेसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा र ५९ लाख ४६ हजार २२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।