काठमाडौं । डा. गोविन्द केसीले डडेलधुरामा जारी आफ्नो १७ औं सत्याग्रह स्थगित गरेका छन् । मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह स्थगित गरेको घोषणा गरेका हुन् । राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगन गरेको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।
चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए । केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन् ।
सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् । सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले जनाएका छन् ।उनले सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो भन्दै सबल र आत्मसम्मानपूर्ण राष्ट्रका लागि सीमा रक्षा मात्रै काफी नभएको दाबी गरेका छन् ।
आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा स्वास्थ्य उपलब्ध हुने तथा बिना भेदभाव र भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्ने केसीको तर्क छ ।