काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली भारोत्तोलन टोली उज्वेकिस्तान जाँदैछ । नेपालको पोखरा र काठमाडौंमा आयोजना हुने साग खेलकुद प्रतियोगिता यही वर्षको डिसेम्बर एक तारिखदेखि १० तारिखसम्म आयोजना हुनेछ ।सोही प्रतियोगिताको तयारीका लागि नेपाली भारोत्तोलन टोली शुक्रबार ज्वेकिस्तानको तास्केन जान लागेको हो ।
१२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । पुरुष खेलाडीमा पुकार गुरुङ, सन्देश गुरुङ, दिनेश कार्की, प्रकाश केसी, राजु चौधरी र तुलाराम महतो रहेका छन् ।
महिलामा अस्मिता राई, मनकुमारी कुमाल, राजलक्ष्मी थापा, कमला श्रेष्ठ, संगीता राई र करिना चौधरी छन् । प्रशिक्षकमा दिनेश भुजेल र सकिल अहमद तथा व्यवस्थापकमा रुद्रबहादुर न्यौपाने रहेका छन् । तास्केनमा टोली २२ दिनसम्म प्रशिक्षणमा रहने नेपाल भारोत्तोलन संघका सचिव तिलक राउतले जनाएका छन् ।