बुटवल ।कपिलवस्तुमा प्रहरीको गोली लागेर मृत्यु भएका ब्यक्तिको शव आफन्तले उठाएका छन् । बिहीबार राति अबेरसम्म विवादित पक्षहरुबीच प्रशासनमा भएको वार्ताबाट विवाद पनि साम्य भएको छ ।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा तनाव भएको थियो । हिन्दु र मुस्लिम समूदायबीचको विवादले उग्र रुप लिन थालेपछि प्रशासनले कृष्णनगरमा कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्युकै क्रममा प्रहरीले गोली चलाउँदा भारतको बढनी घर भइ कृष्णनगरमा व्यवसाय गर्ने १८ वर्षका सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।
बिहीबार राति कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको हो । वार्तापछि प्रहरीको सहयोगमा लक्ष्मीपूजाको मूर्ति राति नै बिसर्जन गरिएको र मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेको प्रहरीले जनाएको छ ।
विवाद साम्य भएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू शुक्रबार हट्नसक्ने प्रहरीले जनाएको छ ।
बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जनको र्यालीलाई प्रहरीले मुस्लिम बाहुल्य बस्तीबाट नलैजान आग्रह गरेको विषयमा विवाद बढेको थियो । स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार कृष्णनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।
कृष्णनगरमा गत वर्ष पनि मूर्ति बिसर्जनका क्रममा विवाद भएको थियो । हिन्दू र मुस्लिम समुदायसँग जोडेर विवाद बढ्दै जाँदा हिंसात्मक घटना हुने गरेका छन् ।