काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी इन्काउन्टर ‘फेक’ भएको निष्कर्ष निकालेको छ ।
आयोगले गरेको स्थलगत अनुसन्धानबाट पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको निश्कर्ष निकालेको हो । आयोगले उक्त घटनामा प्रहरीलाई निर्देशन दिने पदाधिकारी उपर कानुनी कारवाहीका लागि सरकारलाई निर्देशनसमेत दिएको छ ।
पौडेल गत असार ४ गते मारिएका थिए। प्रहरी ‘इन्काउण्टर’ मा मारिएको दाबी सुरक्षा निकायको थियो ।
प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा दुई नम्वर प्रदेश प्रहरी कार्यालयको समन्वयमा परिचालित प्रहरीले पौडेललाई नियन्त्रणमा लिए पश्चात अनावश्यक रुपमा बल प्रयोग गरी गोली हानेको आयोगले जनाएको छ । पौडेलको बाँच्न पाउने न्यूनतम् अधिकारको हनन् भएको आयोग ठहर छ।
आयोगको स्थलगत अनुसन्धानबाट पौडेललाई ९ गोली हानी मारिएको र दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको प्रतिवेदनमा उल्लेख छ ।

