काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धी कोर्ष पनि अध्यापन गराउने भएको छ । आगामी शैक्षिक सत्रबाट मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धी छुट्टै कोर्षको अध्यापन सुरु हुने भएको हो ।
विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले आगामी शैक्षिक सत्रदेखि श्रम शिक्षा सम्बन्धी छुट्टै कोर्ष अध्यापन गराउने तयारी गरिएको जानकारी दिए ।
सोमबार आयोजित एक कार्यक्रममा प्राध्यापक अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्नका लागि विश्वविद्यालयले छुट्टै विभाग र पाठ्यक्रमको पनि निर्माण गरिसकेको बताए ।
उनले पाठ्यक्रममा नेपाली श्रमिकहरुको अवस्था, उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने पहल लगायतका विषयबस्तुहरु समावेश गरिएको पनि स्पष्ट पारे ।