काठमाडौं । जम्मू–कश्मीरमा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा दुई भारतीय गोर्खा सैनिक मारिएका छन् । आइतबार बिहान जम्मू कस्मिरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलीबारीमा दुई गोर्खा जवान मारिएका हुन् ।
मारिनेमा हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ छन् । भारतीय सेनाका अनुसार पाक सेनाले तङ्गधार सेक्टरमा गरेको गोलीबारीमा थप ३ सैनिक घाइते भएका छन्। एक नागरिक पनि मारिएका छन्। सो गोलीबारीपछि भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानी सेना पनि हताहत भएको हुनसक्ने जनाइएको छ ।
पछिल्ला दुई महिनायता पाकिस्तानी गोलीबारीमा ५ गोर्खा सैनिक शहीद भइसकेका छन्। केही दिनअघि मात्र पाकिस्तानी सेनाले रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा बाघडुग्रामा निवासी नाइक सुवास थापा शहीद भएका थिए।

