बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागि बन्द भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।
चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । भारतका विभिन्न शहरहरुमा मजदुरी गरेर घर फर्कने नेपालीहरुको सिमानामा लर्को लागेको छ । तर, यही बेला पुल बन्द हुँदा नेपालीहरुमाथि सास्ति थपिएको छ ।
आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुनेछ । यसका साथै अक्टोवर १६ तारेख (असोज २८ गते)का दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ ।
उक्त नाका असोज २७ गते साँझ ५ः१५ बजेदेखि असोज २९ गते साँझ सवा ५ः१५ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।