खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग नवाशहरको आयोजनामा रसुवाबाढीका पीडितप्रति सहानुभूतिसँगै तिजी कार्यक्रम सम्पन्न भएको छ ।
सेप्टेम्बर १४, २०२६ का दिन सम्पन्न सो कार्यक्रमको उद्घाटन केन्द्रीय सचिव कुलबहादुर बगालेले द्वीप बालेर गर्नुभएको थियो ।
कार्यक्रममा रसुवाबाढीमा परी ज्यान गुमाएका दिवङ्गतको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो भने मैनबत्ती बालेर मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
मूल प्रवाहका सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तुलबहादुर रसाइली, महिला क्षेत्रीय विभागकी शान्ता शर्मा, गङ्गा विक, पार्वती रसाइली र लोकनारायण रेग्मीलगायतले मन्तव्य राख्दै रसुवाबाढीका प्रभावितप्रति सहानुभूति प्रकट गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै वक्ताहरूले यस दु:खद घडीमा एकजुट हुन र नेपाली संस्कृतिलाई प्रवासमा पनि जीवन्त राख्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रम सुनिता श्रीपालीको अध्यक्षता तथा सिर्जना विकको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा कमला हेलमेलले स्वागत गर्नुभएको थियो ।


