बुटवल । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ ।
शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक फोरेन्सिक विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीले बाढीप्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन भई प्राप्त भएका डिएनए नमुनाको परीक्षण गरिरहेको छ । नमुना सङ्कलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले बिपद्पछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।
प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढीप्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तबाट सङ्कलित नमुना प्राप्त हुने क्रम जारी छ ।
‘बाढीप्रभावित क्षेत्रबाट सङ्कलित मृतकका नमुना र आफन्तबाट सङ्कलित नमुना आउने क्रम जारी छ । सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ’ उनले भने ।
प्रयोगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त आठ सय आठोटा रगतका नमुना, मृतकका दाँत तथा हाडबाट सङ्कलित तीन सय ४८ ओटा नमुना र ८४ ओटा मृतकका औँलाछापसम्बन्धी नमुना गरी जम्मा एक हजार दुई सय ४० ओटा नमुना डिएनए तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्राप्त भएको प्रहरीले जनाएको छ । हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका एक हजार दुई सय ८६ तथा आफन्तका एक हजार चार सय १२ गरी कुल दुई हजार छ सय ७८ डिएनए नमुना सङ्कलन गरिएको छ ।
मृतकबाट सङ्कलित नमुनामध्ये चितवनबाट तीन सय ५४, धादिङबाट ७०, नुवाकोटबाट दुई सय सात, रसुवाबाट एक सय ३४, नवलपरासीपूर्वबाट एक सय ९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट दुई सय १३ ओटा नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नेपाल प्रहरी अस्पतालमा हालसम्म नौ सय ९० मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ । अन्य जिल्लाबाट नमुना सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको छ ।
डिएनए प्रोफाइलिङ व्यक्तिको पहिचान पुष्टि गर्नुका साथै व्यक्तिबिचको जैविक सम्बन्ध स्थापित गर्न प्रभावकारी वैज्ञानिक विधिका रूपमा प्रयोग हुँदै आएको छ ।
भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि पनि डिएनए प्रोफाइलिङलाई विस्तार गरिएको प्रहरीले जनाएको छ ।
बाढीमा फेला परेका शव तथा शरीरका अङ्गको पहिचान गर्न मृतकको नमुना र सम्भावित आफन्तको नमुनाबिच वैज्ञानिक तुलना गरी पहिचान यकीन गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन तथा निगरानी गरेका छन् । उनले शव पहिचान तथा डिएनए परीक्षणसँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई सूक्ष्म रूपमा अध्ययन गरी वैज्ञानिक विधि र मापदण्डअनुसार काम गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले पनि डिएनए नमुना सङ्कलन, सुरक्षित भण्डारण र परीक्षण प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाइएको जानकारी दिए ।
