(युगदर्शन साप्ताहिक, वर्ष १८, अङ्क १, २०८३ भदौ २४ गते बुधबारको सम्पादकीय)
यस अङ्कको युगदर्शन साप्ताहिक प्रकाशन भइरहँदा तीनोटा विषय सान्दर्भिक छन् : प्रथम– युगदर्शन साप्ताहिक २०८३ भदौ १८ गतेदेखि सातौँ वर्ष पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेको छ भने युगदर्शन मिडियाले १७ वर्ष पूरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । द्वितीय– भदौ २३ गते नेपाल सरकारले “जेनजी सहिद दिवस” घोषणा गरेर बिदा दिएको छ । तृतीय– भदौ १० गतेको रसुवाबाढीको शोकबाट हामी अझै पनि बाहिर भइसकेका छैनौँ अर्थात् हामी अझै शोकमै छौँ ।
युगदर्शन पत्रिकाको प्रकाशन २०६६ वैशाखदेखि सुरु भएको थियो । त्यतिखेर युगदर्शन मासिकले “डाइजेस्ट” प्रकृतिका सामग्री प्रकाशन गर्दथ्यो अर्थात् एक महिनाभित्रका सान्दर्भिक तथ्यमूलक सामग्री सङ्कलन गरेर यो पत्रिका प्रकाशन हुन्थ्यो । २०७६ सालसम्म आइपुग्दा परिस्थिति बेग्लै बन्यो । ‘हाँक’ साप्ताहिकलाई सामूहिक स्वामित्वमा लैजाने निर्णय विरुद्ध त्यसलाई व्यक्तिविशेषले कब्जा गरेपछि सोही साल भदौ १८ गतेदेखि युगदर्शन साप्ताहिकको प्रकाशन सुरु भयो । त्यससँगै यही वर्ष असोज ७ गतेदेखि युगदर्शन डट कम पनि प्रकाशन सुरु भयो । यी सात वर्षमा हामीले मिसन पत्रकारितालाई अगाडि बढाउने अथक प्रयास गरिरहेका छौँ ।
नेपालको इतिहासमा भदौ २३–२४ जेनजी आन्दोलनको नाममा अङ्कित छ । गत वर्षको यो घटनाको स्मरणमा सरकारद्वारा भदौ २३ गतेलाई “जेनजी सहिद दिवस” घोषणा गरिएको छ । पक्कै पनि जेनजी आन्दोलनको दोस्रो दिन इतिहासकै कालो दिन हो । त्यस दिन देशको ऐतिहासिक तथा राष्ट्रिय भौतिक सम्पदा ध्वस्त बनाइएको थियो, लिखित कागजपत्र सोही दिन खरानी बनाएको थियो । यस घटनाको जति विरोध गरे पनि कम हुन्छ । यता जेठ २३ गते भने महान् दिन हो । त्यो दिन युवाविद्यार्थीले भ्रष्टाचारका विरुद्ध आवाज उठाएका थिए । त्यो आन्दोलनको अर्को माग सामाजिक सञ्जालमाथिको प्रतिबन्ध थियो तर भ्रष्टाचारका विरुद्ध सङ्घर्षको तुलनामा त्यो गौण महङ्खवको विषय थियो ।
यही भदौ ३० गते रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । नेपाल–चीन सीमाक्षेत्रको लाङटाङ लिरुङ हिमालको ५२ सय मिटरमाथिको हिमपहिरो करिब १२ सय मिटर तल तीव्र गतिमा खस्दा ल्हेन्देखोला हुँदै रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । १८० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिको त्यो बाढीले रसुवा र नुवाकोटका त्रिशूली नदीकिनारका बस्ती सखाप पार्यो । धादिङ, गोरखा र तनहुँ, चितवनसम्मै त्यसको गम्भीर असर पर्यो । बाढीले भौतिक क्षति कति गर्यो त्यसको लेखाजोखा अझै हुन सकेको छैन । मानवीय क्षति पनि हजारौँमा पुगेको छ । मङ्गलवार बिहानसम्म १३ सय ५७ भन्दा बढी शव फेला परिसकेका छन् । त्यसमध्ये करिब सय जनाको मात्रै सनाखत भएको छ भने करिब ५३ सय २६ जना बेपत्ता भएको रिपोर्ट दर्ता भएको छ । ६८ सय २७ जना घाइतेको उपचार गरिसकिएको छ । घटनाबाट प्रभावित प्रभावित १३ हजार पाँच सय ८३ को उद्धार गरिसकिएको छ । यो सङ्ख्यामा फेरबदल भइरहेको छ । रसुवाको टिमुरे बजारदेखि नुवाकोट हुँदै धादिङसम्म आइपुग्दा जुन नदीतटीय बस्ती ध्वस्त भएका छन्, त्यसबाट हजारौँ जनता प्रभावित भएको स्पष्ट छ ।
सरकारले भदौ २२ गते घटनाको १३ दिन पारेर “राष्ट्रिय शोक दिवस” घोषणा गरे पनि हामी अहिले पनि शोकभन्दा बाहिर छैनौँ । खोजी र उद्धार कार्य अझै जारी छ । राहत वितरणसँगै बेघरबारको व्यवस्थापनको काम बाँकी नै छ, भौतिक पुनर्निर्माणको कार्य त धेरै टाढा भयो । ठिक यही परिवेशमा हामीले जेनजी आन्दोलनको स्मरण गरिरहेका छौँ । परिस्थिति जतिसुकै प्रतिकूल भए पनि त्यसबाट माथि उठ्नुको विकल्प छैन । विगतबाट शिक्षा लिँदै हामी माथि उठ्ने नै छौँ ।
