• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

सन्दर्भ रसुवा बाढी : प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन (पूर्ण पाठ)


  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
  • सम्माननीय सभामुखज्यू,

    Advertisement

    आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसद्को रोस्ट्रममा उभिएको छु ।

    आफ्ना सपना बुनिरहनु भएका नानीबाबु, हाँसोखुसीका साथ बसिरहनु भएका आमाबुबा, दाजुभाइ र दिदीबहिनीलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट खोसेर लग्यो ।

    यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै समवेदना व्यक्त गर्दछु । घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु, अनि आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकको पीडा पनि म गहिरोसँग महसुस गर्न सक्छु ।

    यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चीत्कार सुन्दा मेरो छाती चिसो हुन्छ तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय झनै छैन । सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ । त्यसैले दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ ।

    घटनापछि सरकारले मानिसको जीवनरक्षाका लागि के गर्दै गयौँ ? अहिले के गरिहेको छ ? र अब के गर्नेछ भन्नेबारे जानकारी म सम्मानित सदनलाई गराउँदैछु ।

    २०८३ भदौ १० गते

    बिहान ८:४५ बजे, ठिक त्यो बेला जब म यसै संसद्मा उभिएर यहाँ उठाइने प्रश्नको जबाफ दिने तयारी गर्दै थिए तर सूचना आयो– रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । त्यो खबरसँगै हामी गम्भिर बन्यौँ । तत्कालै जिल्ला बिपद् व्यवस्थापन समितिबाट ब्रिफिङ लियौँ र सुरक्षा सतर्कता अपनाउन निर्देशन दियौँ तर मनमा चिसो पस्यो, के हाम्रा मान्छेहरू जोगिन भ्याउनुभयो होला ?

    बिहान ९ बजे तटीय क्षेत्रका बस्तीमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षित स्थानमा जान आग्रह गरियो । ९:१५ बजे परिस्थितिलाई ध्यान दिँदै राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलायौँ । प्रभावित क्षेत्रका मानिसलाई कसरी उद्धार गर्ने भन्ने निर्णयहरू भए । ९:३५ बजे टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कताको सूचना पठायौँ । ९:४५ बजे नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उड्यो । त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो । तुरुन्तै निजी हेलिकप्टरलाई स्ट्यान्डबाई राख्यौँ ।

    बिहान १० बजे नेपाली सेनाको मनसुन कमान्ड पोस्टको आकस्मिक बैठक बस्यो, प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय भयो । १०:३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सर्च एन्ड रेस्क्यु तथा इमरजेन्सी रेस्पोन्स टिम तयारी अवस्थामा राख्यौँ ।

    काठमाडौँलगायत अन्य जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरियो ।

    बिहान ११ बजे बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्यो । सुरक्षा निकायका प्रमुखलाई प्रभावित क्षेत्रमा मानिस सङ्कटमा परेको र जसरी पनि खोज, उद्धार र उपचारलाई प्राथमिकता दिन निर्देशन दियौँ । थप हेलिकप्टर र ड्रोन टोली परिचालन गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिएका थियौँ ।

    दिउँसो १२:३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारलाई तीव्र बनाउने निर्णय गर्‍यौँ । १५ ओटा प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि बिपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, मृतकका परिवारलाई कानुन मोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने, घाइते एवम् बिचल्लीमा परेका व्यक्तिलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने र यस कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय गरियो । घाइतेको तत्कालै नि:शुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले मिलाउने, घर/निवास गुमाएका व्यक्तिलाई सुरक्षित स्थानमा सारी खाने/बस्ने व्यवस्था मिलाउने, अवरुद्ध हुन पुगेको विद्युत् आपूर्ति, दूरसञ्चार, सडक, खानेपानीलगायत सेवा तत्कालै सञ्चालनको व्यवस्था मिलाउने निर्णयसमेत भयो ।

    दिउँसो १ बजे, प्रभावित क्षेत्रका सङ्घीय सांसदसँग छलफल गर्यौँ । तत्कालै सम्पर्कमा आउनुभएका स्थानीय जनप्रतिनिधिसँग टेलिफोनमार्फत जानकारी लियौँ ।

    सम्माननीय सभामुख महोदय

    तत्कालै नेपाली सेनाको ज्वाइन्ट अपरेसन कमिटी, राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको क्विक एक्सन टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको र्‍यापिड एक्सन टिममार्फत सूचना सङ्कलन, समन्वय र अनुगमन सुरु गर्‍यौँ ।

    प्रभावित क्षेत्रमा खोजसँगै घाइतेको उद्धार गर्दै काठमाडौँ ल्याएर उपचार सुरु गरियो । राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्यायौँ। अन्य सबै ठूला अस्पताललाई तयारी अवस्थामा राख्यौँ ।

    सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रसलगायतको सहकार्यमा मेडिकल टिमलाई प्रभावित क्षेत्रमा खटायौँ । आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लबलगायतसँग समन्वय सुरु गरियो ।

    दिउँसो ३ बजे नै सूचना तथा सञ्चारमन्त्रीको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ लाग्यो । त्यसयता राज्यका सम्पूर्ण संयन्त्रबाट प्रभावित क्षेत्रको स्थितिबारे निरन्तर ब्रिफिङ लिइरह्यौँ, थप आवश्यक निर्णय गर्दै गयौँ । हर समय हामीले निर्णय कार्यान्वयन गर्दै गयौँ ।
    राति ७:४० बजे प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह गरियो ।

    हामीलाई प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको मात्रै चिन्ता थिएन, त्यस दिनदेखि घरबारबिहिन हुनु भएकाका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो । घटना भएको दिन बुधबार मध्यरातमै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौँ । त्यसै दिन रातिसम्ममा प्रभावित क्षेत्रमा मोबाइल फोन प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा नि:शुल्क गर्‍यौँ ।

    २०८३ भदौ ११ गते

    भोलिपल्ट बिहानै पूर्वाधार विकास मन्त्रीसहितको टोली लिएर म आफैँ पनि स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा पुगी बस्तुस्थिति बुझेर आएँ । प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री पनि आफ्नो टोलीसहित हुनुहुन्थ्यो ।

    प्रभावित क्षेत्रबाट फर्केलगत्तै सोही दिन मन्त्रिपरिषद्का सदस्यसँग आपतकालीन छलफल गरी आवश्यक निर्णय लिइयो । रसुवा र नुवाकोटका लागि एक/एक करोड रूपैयाँ र धादिङका लागि ५० लाख रूपैयाँ निकासा गर्‍यौँ ।

    विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरियो । प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दियौँ । खोज, उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौँ । त्यस दिन राति ८ बजेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भइसक्नु भएको थियो । ६९ उडानमार्फत ३५१ जनाको उद्धार गरिसकिएको थियो ।

    उडानका क्रममा गम्भिर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई प्राथमिकता दिइएको थियो । प्रभावित तीन हजार ५०० जनालाई तत्काल बसोबास गराउन त्यस क्षेत्रका विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा व्यवस्थापनको तयारी गरियो ।
    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री पठाएर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरियो ।

    बिपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट त्रिशूली पठाइयो । काठमाडौँमा सङ्कलन भएको थप १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो । सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरियो । प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सडकलाई प्रभावित क्षेत्रसँग जोड्ने प्रयास पनि सुरु भयो ।

    सभामुख महोदय,

    अब म यो सम्मानित सदनलाई हालसम्मको स्थिति र सरकारको कामकारवाहीबारे विस्तृत जानकारी गराउन अनुमति माग्छु ।

    खोज तथा उद्धार

    घटना भएलगत्तै हामीले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेका थियौँ । केहीबेर अघिसम्म ११ हजार ९९३ जना मानिसको उद्धार गरिसकेका छौँ तर पनि तीन हजार ९१६ जना सम्पर्कविहिन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये केही बेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ । बाँकी घाइतेको पनि स्वास्थ्यमा सुधार ल्याउन हाम्रो स्वास्थ्यकर्मी लागिरहेको छ ।

    उपचार तथा राहत

    हामीले काठमाडौँबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकको उपचारका लागि पनि खटाइरहेका छौँ । उपचारसँगै प्रभावित क्षेत्रका नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ । प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमबाट सूचना प्रवाहसमेत भइरहेको छ ।

    बिपद्पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना प्रभावकारी रूपमा लागु गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ ।

    हाल नुवाकोटका १९ ओटा अस्थायी आश्रयस्थलमा दुई हजार ६५३ जना प्रभावित नागरिकले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ । रसुवाका केही प्रभावित नागरिकलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ ।

    आर्थिक सहयोग परिचालन

    नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ ।

    केही बेरअघिसम्म राहत कोषमा सात अर्ब ८८ लाख ५७ हजार २१७ रूपैयाँ जम्मा भएको छ । हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रूपैयाँ निकासा गरिएको थियो । त्यसमध्येबाट छ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका गरी १५ ओटा पालिकामा निकासा भइसकेको छ ।

    केही बेर अघिसम्म यो कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ रूपैयाँ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

    अन्तर्राष्ट्रिय सद्भाव र सहयोग

    बिपद्को यस घडीमा हामीलाई मित्रराष्ट्रबाट टेलिफोन, पत्राचार र सामाजिक सञ्जालमार्फत सद्भावना सन्देश प्राप्त भइरहेको छ । यसले हामीलाई अझै दृढताका साथ यो विपत्तिसँग लड्न बल मिलेको छ ।

    बाढी प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय समुदायले समेत सहयोगका हात बढाउनुभएको छ । हालसम्म भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, चीन, अमेरिका, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिङ्गापुर, दक्षिण कोरिया, जापान, युकेलगायत मित्रराष्ट्रले सहयोग गर्नुभएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विकास साझेदार, एसियाली विकास बैङ्क, विश्व बैङ्क, युरोपेली युनियन र संयुक्त राष्ट्र सङ्घलगायतले पनि सहयोग गरेको अवस्था छ । अझै कतिपय मित्रराष्ट्र तथा सङ्घसंस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन् ।

    प्रभावित पूर्वाधार र पुन:स्थापना

    प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुन:स्थापना हुँदै हिजोसम्म ९५ प्रतिशत सेवा पुन:स्थापना भइसकेको छ । सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थानमा हाल ३० ओटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको छ ।

    बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठुलो क्षति पुर्‍याएको छ । विद्युत् उत्पादन गरिरहेका आठोटा आयोजना (२८१ मेगावाट) र निर्माणाधीन चार ओटा (३८८ मेगावाट) क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठुलो लगानी लाग्ने देखिएको छ । बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।

    नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुन: प्रवाह गरिरहेका छौँ । धादिङमा ९८ प्रतिशत विद्युत् सेवा पुन:स्थापना भइसकेको छ । रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुन:स्थापना भइसकेको छ ।

    जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेका छन् । बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डको अधिकांश भाग क्षति भएको थियो ।

    गल्छी–वेत्रावती–रसुवागढी सडकको बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डको ४० किलोमिटर पूर्ण रूपमा र १६ किलोमिटरमा आंशिक क्षति भएको थियो । पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिरलगायत क्षेत्रमा क्षति पुगेको छ ।

    पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे, गलौदी खण्डमा लेदो हटाई यातायात सञ्चालन भइसकेको छ । बाढीका कारण ४८ ओटा झोलुङ्गे पुलमा क्षति पुगेको छ, जसमध्ये २० ओटा मर्मत गर्न मिल्ने र २८ ओटा नयाँ निर्माण गर्नुपर्नेछ ।

    प्रभावित क्षेत्रमा ३१ ओटा मोटरेबल पुल बगेका छन् । तीमध्ये दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ । गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ । तादी देवीघाटमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकाले काम सुरु भइसकेको छ । थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ ।

    बाढीका कारण क्षतिग्रस्त मुग्लिन–नारायणगढ सडकको कृष्णभिर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । अन्य पूर्वाधारको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

    शव व्यवस्थापन

    पहिचान हुन नसकेको शव कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ, तर डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधार सुरक्षित राखिएको छ । यी शव डिएनए म्याचिङपश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ ।

    पहिचान हुन सकेका शव परिवार र आफन्तको जिम्मा लगाइरहेको अवस्था छ । केही बेर अघिसम्म एक हजार ११४ शव फेला परेका छन्, जसमध्ये ९५ शवको सनखात भइ परिवारले बुझेका छन् ।

    जलवायु परिर्वतनको प्रभाव

    अचानक बेहोरेको यो ठुलो बिपद्को क्षति व्यवस्थापनमा अहोरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ । त्यो हो– हामीमाँझ कसरी यो बिपद् आइलाग्यो ?

    विज्ञले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठुलो विपत्ति भएको बताएका छन् । यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भिर सङ्केत गरेको छ । त्यसैले हामी त सचेत त हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको बिपद्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो । यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो ।

    सभामुख महोदय,

    रुसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी रहनेछ । घाइतेको उपचार जारी रहनेछ । घरबारविहीन हुनुभएकाका लागि तत्कालका लागि अस्थायी र दीर्घकालिन पुन:स्थापनमा सरकार लाग्नेछ । कोही कतै छुट्नु हुने छैन । यसबिचमा हामी बिपद्सँग लडिरहँदा हामीमाथि केही प्रश्न पनि उठे ।

    १) समयमै बाढीको सूचना किन भएन भन्ने सन्दर्भमा मानव सभ्यताले भोगेकोमध्ये यो ठुलो घटना हो । यो बिपद् पूर्वानुमानभन्दा बाहिरको कुरा हो । बाढी आउँदै गरेको सूचना पाएलगत्तै हाम्रा सुरक्षाकर्मी स्थानीयलाई सर्तक बनाउन खटिनुभएको थियो । त्यसै बेला उहाँहरूसमेत बेपत्ता हुनुभएको छ ।

    २) शव व्यवस्थापनमाथि प्रश्न उठेको सन्दर्भमा यो ठुलो बिपद्मा धेरै मानिसले नदीको लेदोसहितको पानीमा परेर ज्यान गुमाउनुभयो । बाढीले उहाँहरूको शवलाई फरकफरक ठाउँमा पुर्‍यायो । हामीले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शव मात्रै डिएनएलगायत पहिचान हुने आधार सुरक्षित राखी जमिनमुनि व्यवस्थापन गरेका छौँ । पछि डिएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ । त्यसपछि उहाँहरूले आआफ्नो धार्मिक संस्कारअनुसार अन्तिम संस्कार गर्नुहुनेछ । त्यसैले यस विषयमा भ्रममा नपर्न म सबैमा अनुरोध गर्दछु ।

    ३) उद्धारका लागि विदेशी सहयोग सन्दर्भमा यति ठुलो बिपद् पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सहयोग लिन सुरुआतदेखि नै हामीले अन्तर्राष्ट्रिय मुुलुकसँग समन्वय गरेकै थियौँ । प्रक्रियासमेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ ।

    ४) प्रभावित क्षेत्रका विद्युत आयोजनाका सुरुङमा खोज र उद्धारको सन्दर्भमा घटना हुनासाथ खोज गर्दा र जहाँजहाँ घाइते भेटिनुभयो र जहाजहाँ हेलिकप्टर जान सक्यो, त्यहाँ उद्धार तीव्र बनाएका थियौँ । प्रभावित विद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छ ।

    ५) बिपद्का बेला सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वयको सन्दर्भमा सुरुआतबाटै हामी प्रदेश सरकारसँगै स्थानीय सरकार र जनप्रतिनिधिसँग निरन्तर संवाद भइरहेको थियो । हामी प्रभावित क्षेत्रमा जाँदा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरेका थियौँ । त्यसपछि राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उहाँहरूसँग छलफल गरी बिपद् व्यवस्थापनमा आआफ्नो जिम्मेवारी अझै गम्भीर रूपमा निर्वाह गर्ने निर्णय भएको थियो ।

    समामुख महोदय,

    बिपद्पश्चात खोज, उद्धार, उपचार, राहत र व्यवस्थापनदेखि पुन:स्थापनाको चरणसम्म खटिनुहुने सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मन्त्रिपरिषद्का सदस्य, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय, स्वयम्सेवी संस्था, आम नागरिक, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सम्पूर्ण सरोकारवालाप्रति हामी आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको आग्रह गर्दछौँ । सरकार हिजो पनि तपाईंसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ ।

    बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.