भिवानी, (हरियाणा) भदौ ७ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिका सदस्य मदनलाल बिक तथा महिला नगर विभागकी सदस्य अमृता बिकलाई स्वदेश विदाई गरिएको छ । उहाँले नोकरीबाट अवकाश प्राप्त गरी स्थायी रूपमा स्वदेशमै बसोबास गर्ने भएकाले संगठनले विदाई गरेको हो ।
नगर समितिका अध्यक्ष डिलबहादुर भट्टराईको अध्यक्षता तथा मनिराम अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सर्वप्रथम सहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव तथा क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्यले देशको वर्तमान राजनीतिक अवस्था, प्रवासमा नेपाली मजदुरहरूले भोग्नुपरेका समस्या तथा एकता समाजका कार्यकर्ताको दायित्व र जिम्मेवारीबारे मन्तव्य राख्नुभएको थियो ।
अवकाशपछि पनि मदनलाल बिक र अमृता बिकले स्वदेशमा राष्ट्रिय जनमोर्चाले अन्याय, अत्याचार, विभेद र राष्ट्रघातविरुद्ध सञ्चालन गरिरहेको आन्दोलनमा सक्रिय रूपमा सहभागी भई आन्दोलनलाई थप सशक्त बनाउन निरन्तर योगदान पुर्याउने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा महिला नगर विभाग संयोजक उर्मिला कोपिला, रामनगर टोल समितिका गोपाल सुनार, विकासनगर टोल समितिका श्याम बिक, नगर समितिका जमानसिंह बिक, प्रकाश केसी, मानबहादुर रायमाझी र रमेश जिसी, केन्द्रीय समता विभागका सदस्य मोहनसिंह बिक, नगर समितिकी सदस्य अमृता बिक, अखिल नेपाल महिला संघ सैनामैना नगर समितिकी कोषाध्यक्ष मिना भट्टराई, राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका–१५ की सदस्य बसन्ता आचार्य, राष्ट्रिय जनमोर्चा बाणगंगा नगर समितिकी सदस्य सावित्रा अधिकारी, नगर समितिका संस्थापक सदस्य वी.वी. कोपिला तथा नगर समितिकी सदस्य राधा बिकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि शालिकराम आचार्यले अवकाश प्राप्त दुवैजनालाई दोसल्ला ओढाई, अबिर र फूलमालाले सम्मान गर्दै हार्दिक बिदाइ गर्नुभएको थियो ।