साइतामा, जापान । जापानमा रहेका ताराखोलावासीबीच एकता, आत्मीयता, भाइचारा र सहकार्यलाई थप मजबुत बनाउँदै ताराखोलाको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले ताराखोला समाज जापानको पहिलो वार्षिक साधारणसभा अगस्ट १९ तारिख साइतामास्थित इन्डियन करी हेभेनमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष डिलबहादुर कँडेल (विष्णु)को अध्यक्षता तथा महासचिव खिम निउरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाबुराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो। सचिव लिल शंकर विकले ताराखोलाको परिचय, सचिव विनोद पाण्डेले आर्थिक प्रतिवेदन तथा उपाध्यक्ष बुद्धि थापाले वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा युवा संयोजक नारायण थापा, कार्यसमिति सदस्य इन्द्रबहादुर रोका तथा संस्थापक संरक्षकहरू नरबहादुर थापा, कृष्ण गौचन र तेन्जिन्द्रबहादुर थापाले समाजको आगामी कार्यदिशा, युवा सहभागिता र सामाजिक गतिविधिबारे धारणा राख्नुभएको थियो।
अतिथिहरूले ताराखोलाका गाइघाट झरना, घुम्टे, सिद्ध मन्दिर र डुँडेलेकजस्ता पर्यटकीय क्षेत्रको संरक्षण, प्रचार–प्रसार तथा पूर्वाधार विकासमा जोड दिएका थिए। साथै, पर्यटनसँगै शिक्षा, स्वास्थ्य र स्थानीय रोजगारीका अवसर सिर्जना गर्न स्थानीय समुदाय, सम्बन्धित निकाय तथा प्रवासी नेपालीबीच सहकार्य आवश्यक रहेको बताउनुभएको थियो।
कार्यक्रममा निउरे समाज जापानका अध्यक्ष खिमानन्द निउरेको विशेष उपस्थिति रहेको थियो। उहाँले साधारणसभा सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै जापानस्थित नेपाली सामाजिक संस्थाबीच सहकार्य र समन्वयमार्फत समुदाय तथा मातृभूमिको विकासमा थप योगदान पुर्याउन सकिने बताउनुभएको थियो।

साधारणसभाको अवसरमा कला, संस्कृति तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। पञ्चेबाजामार्फत ताराखोलाको कला तथा संस्कृतिलाई देश–विदेशमा चिनाउन योगदान पुर्याउनुभएका रामु थापा र डिलबहादुर थापा (राजा)लाई विशेष सम्मान गरिएको थियो।
त्यस्तै, खेलकुद क्षेत्रमा योगदान पुर्याउनुभएका पूर्वखेलाडी अनुप खत्री तथा संस्थापक संरक्षकहरू नरबहादुर थापा, कृष्ण गौचन, तेन्जिन्द्रबहादुर थापा र निवर्तमान अध्यक्ष एवं संरक्षक केदार थापालाई सम्मान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूको योगदान तथा परिचयबारे कार्यसमिति सदस्य विष्णु थापाले जानकारी गराउनुभएको थियो।
साधारणसभाले ताराखोलाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, पर्यटन प्रवद्र्धन, सामाजिक विकास तथा स्थानीय समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने संकल्प गरेको छ।