काठमाडौँ, साउन २२। जनस्वास्थ्य कार्यालय काठमाडौँको आयोजनामा विश्व स्तनपान सप्ताह समापन कार्यक्रम सम्पन्न भएको छ। सप्ताहको अवसरमा काठमाडौँको टेकुस्थित जनस्वास्थ्य कार्यालयमा स्तनपान कक्षसमेत स्थापना गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागरप्रसाद घिमिरेले शिशुको स्वास्थ्य र विकासमा आमाको दूधको महत्वपूर्ण भूमिका रहेकाले स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सप्ताह मनाइएको बताउनुभयो।
साउन १६ देखि २२ गते (अगस्ट १–७) सम्म मनाइएको विश्व स्तनपान सप्ताहको अवसरमा स्थापना गरिएको स्तनपान कक्ष जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा काठमाडौँ जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीले प्रयोग गर्ने जनाइएको छ। यस वर्ष ‘‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ’’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरिएका थिए।
सप्ताह समापनका अवसरमा कार्यालयले स्तनपान प्रवद्र्धनका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखासँग आबद्ध करिब दुई दर्जन सञ्चारकर्मीको सहभागिता थियो।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा पोषण शाखा प्रमुख लीलाविक्रम थापाले सरकारले स्तनपान प्रवद्र्धनका लागि गरिरहेका कामबारे जानकारी दिनुभयो। उहाँले थापाथलीस्थित प्रसूतिगृहमा २०६९ सालदेखि ब्रेस्ट मिल्क बैंक सञ्चालनमा रहेको र यस वर्ष चितवनको भरतपुर अस्पतालमा पनि स्थापना गरिने जानकारी दिनुभयो।
जनस्वास्थ्य कार्यालय काठमाडौँकी जनस्वास्थ्य अधिकृत अनिता खनालले नेपालमा स्तनपानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै स्तनपान प्रवद्र्धनमा गरिने खर्च नभई लगानी भएको बताउनुभयो। उहाँले ‘सुनौलो हजार दिन’ मा आमा र बच्चाको स्वास्थ्यलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै स्तनपानले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्नुका साथै भविष्यमा नसर्ने रोगको जोखिमसमेत घटाउने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सहसचिव विक्रम रत्नले स्तनपान प्रवद्र्धनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै स्वास्थ्यसम्बन्धी विषयमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। उहाँले जनस्वास्थ्यसँग सम्बन्धित विषयमा पत्रकार महासंघ काठमाडौँले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

