धनपति सापकोटा ##
श्रमलाई दुई भागमा बाड्न सकिन्छ : शारीरिक श्रम र मानसिक श्रम । श्रम गरेर आफ्नो जोहो गर्नेलाई श्रमिक भनिन्छ ।
नेपालमा उत्पादनका साधनसँगै उद्योगधन्दा अत्यन्तै कमी पाइन्छ । सरकारी उ्रद्योगहरू या त बन्दप्राय: छन्, या निजीकरणको नाममा बहुराष्ट्रिय कम्पनीलाई बेचिसकिएको छ । हिजो सरकारी उद्योग छँदा कार्यरत हजारौँँको सङ्ख्यामा रहेका नेपाली मजदुरहरू बेरोजगार हुन बाध्य भएका थिए । तिनै बेरोजगार युवायुवती भारत र अरबका खाडी, जापान, युरोप, अमेरिकातिर जान बाध्य भए । यसरी दोस्रो र तेस्रो मुलकमा जाने नेपाली श्रमिकहरू कठोर शारीरिक श्रमका लागि नै जाने गरेको पाइन्छ ।
नेपालमा रहेका केही सीमित उद्योगधन्दामा कार्यरत मजदुरहरू पनि सरकारको हायर एन्ड फायर नीतिअनुसार ठेकेदारी प्रथामा काम गर्न बाध्य छन् । अन्तर्राष्ट्रिय मजदुर कानुन आइएलओ अभिसन्धिअनुसार कुनै पनि कम्पनीले आफ्नो उद्योगमा कार्यरत मजदुरलाई स्थायी गर्नुपर्ने, आठ घण्टाभन्दा बढी श्रम गराउन नपाइने, हप्तामा एक दिन अनिवार्य बिदा दिनुपर्ने, मासिक तलबबाट सञ्चयकोष काटेर, त्यसमाथि उक्त कम्पनीले रकम थपेर अवकाशपछि पेन्सनको व्यवस्था गर्नुपर्ने, वर्षको एकपटक न्यूनतम एक महिना तलबी बिदा लिनुपर्ने, बिरामी भए नि:शुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, नाफाबाट वर्षको एकपटक केही रकम श्रमिकलाई बोनस दिनुपर्नेलगायतका व्यवस्था छन् तर ती कुनै पनि अन्तर्राष्ट्रिय कानुन नमानीकन ठेकेदारको माध्यमबाट मजदुरलाई न्युन ज्यालामा कजाएको देखिन्छ ।
यस विषयमा सरकारको नीति मूकदर्शन छ र गैरजिम्मेवार पनि । अझ वर्तमान सरकारले त त्योभन्दा अगाडि बढेर मजदुरहरू सङ्गठित हुन पाउने अधिकारलाई कुण्ठित पार्दै लगेको छ । आफ्ना न्यायोचित माग राखेर बन्दहड्ताल गर्न पाउने ट्रेड युनियन अधिकार नै खोस्ने नीति लागु गरेको छ ।
असङ्गठित क्षेत्र; जस्तै : निर्माण, यातायात, होटल, कृषिमजदुरको अवस्था झन् दयनीय छ । बौद्धिक श्रम गर्नेहरूमा पनि अस्थायी श्रमिकको सङ्ख्या ठुलो छ । यस्तो सङ्ख्या स्वास्थ्य क्षेत्र, बैङ्क र स्कुलमा पनि पर्याप्त छ । सरकारी निकायमा समेत अस्थाई र करारमा श्रमिक नियुक्त गर्ने तरिका सरकार र राज्यको रहेको छ । यो जनताको भविष्यप्रतिको गैरजिम्मेवार नीति नै हो ।
यस खालका समस्याका विरुद्ध केही श्रमिकहरू सङ्गठित हुने प्रयास गरे पनि दलाल तथा पुँजीवादी पार्टीहरूले श्रमिकका अधिकार सुनिश्चित गर्नेभन्दा पनि उनीहरूलाई भोट बैङ्कको रूपमा प्रयोग गरेर आफू सत्तामा जाने भर्याङ बनाइरहेको देखिन्छ । त्यसको विरुद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले विभिन्न तहतप्कामा रहेका श्रमिकलाई भ्रमबाट मुक्त गर्दै श्रमिकको मुक्ति आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गर्दै आइरहेको छ । हामीले गर्नुपर्ने धेरै काम बाँकी नै छन् । त्यसका लागि सक्रिय र सशक्त रूपमा मजदुर आन्दोलनलाई अगाडि बढाउन आवश्यक छ ।





