काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेस्टर परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १६० जना विद्यार्थीलाई सम्मान गरेको छ।
आइतबार आयोजित कार्यक्रममा इन्जिनियरिङका विभिन्न विधा तथा आर्किटेक्चर संकायमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र ट्रफीसहित सम्मान गरिएको हो।
कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि सदस्य प्रा.डा. सावित्री त्रिपाठीलगायतले विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो।
सो अवसरमा बोल्दै प्राचार्य भण्डारीले विद्यार्थीहरूले हासिल गरेको सफलताप्रति कलेज गौरवान्वित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूले गर्नुभएको मेहनत र हासिल गर्नुभएको सफलताप्रति कलेज गौरवान्वित छ। तपाईंहरूको सिकाइलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन हामी प्रतिबद्ध छौं।”
कलेजका अनुसार पोखरा विश्वविद्यालयको सेमेस्टर परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आर्किटेक्चर संकायतर्फका ६५ जना, सिभिल तथा सिभिल एन्ड रुरल इन्जिनियरिङका ३३ जना, कम्प्युटर इन्जिनियरिङका २२ जना, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन तथा इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङका २० जना र बीडीएच कार्यक्रमका २१ जना विद्यार्थीलाई सम्मान गरिएको हो।
कलेजले प्रत्येक सेमेस्टरमा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गर्दै आएको जनाएको छ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विषयका स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। प्रयोगात्मक शिक्षण पद्धति, पूर्णकालीन शिक्षक–शिक्षिका तथा सहरी कोलाहलभन्दा टाढा शान्त र हरियाली वातावरणमा अवस्थित भएकाले कलेज विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ।
नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त यस कलेजले प्रत्येक वर्ष जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूलाई १५ करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।
कलेजले शैक्षिक सत्र २०२६ का लागि यही असार २५ गते प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। हाल कलेजमा स्नातक तहअन्तर्गत सिभिल इन्जिनियरिङ, सिभिल एन्ड रुरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीडीएच कार्यक्रम सञ्चालनमा रहेका छन्।