काठमाडौँ । काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा बसोबास गर्ने करिब २८ प्रतिशत महिलाले मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्न नसकेको एक अध्ययनले देखाएको छ। त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) को अध्ययनअनुसार ९२.२ प्रतिशत महिलाले गर्भपूर्व जाँच (एएनसी) सेवा लिए पनि सुत्केरीपछिको सेवा (पीएनसी) सहित सम्पूर्ण मातृ स्वास्थ्य सेवा पूरा गर्नेको संख्या ७१.७ प्रतिशत मात्र रहेको छ।
थापाथली, बल्खु, मनोहरा र गोदावरीका सुकुम्बासी बस्तीमा गरिएको अध्ययनमा १५–४९ वर्ष उमेर समूहका २८३ विवाहित महिलाको सहभागिता थियो। अध्ययनले अस्थिर आय, अनौपचारिक रोजगारी, असुरक्षित आवास तथा अप्रत्यक्ष खर्चका कारण महिलाहरू स्वास्थ्य सेवाको निरन्तरताबाट वञ्चित हुने गरेको देखाएको छ।
अनुसन्धानले शिक्षा, आर्थिक अवस्था, जातीय पहिचान र भौगोलिक अवस्थालाई मातृ स्वास्थ्य सेवाको उपयोगका प्रमुख निर्धारकका रूपमा औँल्याएको छ। साथै, लक्षित नीति, नगद सहायता, समुदायमा आधारित स्वास्थ्य सेवा विस्तार तथा सेवाको गुणस्तर सुधार आवश्यक रहेको सुझाव दिइएको छ।