काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले जनआस्था सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको ज्यादतीलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण बताएको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८३ जेठ ११ गते प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो धारणा व्यक्त गरेको हो ।
समाचार लेखेकै कारण कसैलाई धरपकडको प्रयास हुनु, धम्की वा दबाब दिनु, समाचारका स्रोत खोल्न लगाउनु प्रेस स्वतन्त्रताको सिद्धान्त विपरीत रहेको प्रगतिशीलले सरकारलाई सम्झाएको छ ।
वर्तमान सरकार प्रेस जगत्प्रति सुरुदेखि नै नकारात्मक रहेको बताउँदै प्रगतिशीलले समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्ने कानुनतर्फ ध्यानाकर्षण गराएको छ ।
प्रेस स्वतन्त्रताको प्रत्याभूतिविना लोकतन्त्र र राष्ट्रियताको रक्षा हुन नसक्ने बताउँदै वक्रव्यमा पत्रकार श्रेष्ठको जिउधनको रक्षा गर्न सरकारसित माग गरिएको छ :
“सत्ताधारी दलसित सम्बन्धित व्यक्तिका बारेमा समाचार प्रकाशन गरेको कारण देखाई जनआस्था सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठको धरपकडको प्रयास, धम्की र समाचारको स्रोत खोल्न दिइएको दबाबलगायतका घटनाप्रति प्रगतिशील पत्रकार सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
बहालवाला सरकार प्रेस स्वतन्त्रता र लोकतन्त्रप्रति प्रारम्भदेखि नै नकारात्मक रहेको देखिन्छ । सुरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयबाट सरकारी विज्ञापन निजी क्षेत्रलाई नदिने निर्णय गरियो । अहिलेसम्म पनि त्यो निर्णय सच्याइएको छैन । त्यसपछि पनि सञ्चारमाध्यमले विभिन्न बेथितीको उजागर गर्दै आएका छन् । समाजमा रहेका बेथितीको उजागर गर्नु प्रेस जगत्को सामान्य धर्म हो । यस्तो कर्मको दौरानमा सरकारमा रहेका होउन् वा सरकारबाहिरका, सबै प्रकारका बेथितीको प्रेस जगत्ले खोजबिन गर्दछ नै । त्यसैले अहिले वरिष्ठ पत्रकार श्रेष्ठ सम्पादक रहेको सञ्चारमाध्यममा प्रकाशन भएका सामग्री प्रेस स्वतन्त्रताभित्रैका विषय हुन् ।
कुनै पनि व्यक्ति, सरकार वा प्रशासनलाई हामीले सम्झाई रहनुपर्ने विषय होइन, समाचार सामग्रीप्रति चित्त नबुझेमा उजुरी गर्ने निकाय प्रेस काउन्सिल छँदैछ । त्यसैले समाचारसित सम्बन्धित कुनै पनि उजुरी प्रेस काउन्सिलमा नै गरिनुपर्दछ, चाहे ती सरकारमा बसेका व्यक्ति होउन् वा सर्वसाधारण तर त्यसो नगरेर कैयौँले समाचारको प्रकाशनलाई फौजदारी विषय बनाउनु र यस खालको अस्वाभाविक कार्य गर्नेहरूप्रति सरकार वा प्रशासनले उदासिन रवैया अपनाउनु अन्तत: प्रेस स्वतन्त्रता र अन्तत: लोकतन्त्रको समेत विरुद्धमा छ ।
हाम्रो सङ्गठन प्रेस स्वतन्त्रताको रक्षार्थ गम्भीर हुन सरकारसित माग गर्दछ । त्यस क्रममा वरिष्ठ पत्रकार श्रेष्ठमाथिका दबाब, धम्की र धरपकड बन्द गर्न माग गर्दै उनको जिउधनको सुरक्षा गर्न माग गर्दछ । त्यसका साथै सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने पछिल्लो निर्णय तत्कालै खारेज गर्न माग गर्दछ । हाम्रो मान्यता छ : प्रेस स्वतन्त्रताको प्रत्याभूतिविना लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको रक्षा हुन सक्दैन ।”
