काठमाडौँ । ज्ञानशाला अध्ययन केन्द्रले जैविक विविधताको बारेमा अन्तरक्रियामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
हिमाली अध्ययन केन्द्रसँगको सहकार्यमा २०८३ जेठ ९ गते शनिबार नयाँबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयविज्ञ कृष्णप्रसाद भुसालले ‘जैविक विविधता : हाम्रो पहिचान र समृद्धि’ विषयक अवधारणापत्र (प्रोजेक्टर स्लाइड) प्रस्तुत गर्नुभएको थियो ।
सो क्रममा उहाँले जेठ ८ गते (मे २२) का दिन बत्तिसौँ विश्व जैविक विविधता दिवस परेको सन्दर्भ जोड्नुभयो ।
‘जैविक विविधताको संरक्षण, त्यसको उपयोगिता र लाभको न्यायोचित वितरण महत्त्वपूर्ण विषय हो’ उहाँले जानकारी दिनुुभयो– ‘यस वर्षको जैविक विविधता दिवसको विषय विश्वव्यापी प्रभावका लागि स्थानीय पहल रहेको छ ।’
नेपाल जैविक विविधताको सन्दर्भमा धनी रहेको बताउँदै उहाँले सातओटा प्रदेशमध्ये कर्णाली प्रदेश यस मामिलामा धनी रहेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो– ‘तर जैविक विविधताको अध्ययन गर्ने अनुसन्धानकर्ताहरू कर्णाली प्रदेशसम्म कमै पुग्ने गरेका छन्, बढीमा निकुञ्ज वा आरक्षसम्म पुग्ने गरेका छन् ।’
अवधारणा प्रस्तुत गर्दै उहाँले मानिसले प्रकृतिमैत्री व्यवहार गरेर मात्रै जैविक विविधताको संरक्षण गर्न सक्ने धारणा राख्नुभयो ।
‘पोखरा विमानस्थल निर्माण गर्दा हामीले त्यहाँको ल्यान्डफिल साइट १३ वर्षपहिले नै सार्नुपर्ने, त्यसो नभए पनि कमसेकम दुई वर्षपहिले सारौँ भनेका थियौँ’ पोखरा विमानस्थलको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘तर सरकारले हाम्रो कुरा सुनेन । छ महिनापहिले मात्र ल्यान्डफिल साइट सार्यो । फलस्वरूप अहिले पनि त्यहाँ चरा विमानमा ठोक्किने समस्या यथावत् छ ।’
नेपालमा वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गर्ने गरिए पनि एकातिर ती इआइए हचुवाको भरमा गरिने, अर्कोतिर तयार भएको इआइए पनि कार्यान्वयनमा नजाने गरेको अनुभव सुनाउनुभयो ।
भुसालले जैविक विविधताको संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान सञ्चालन गर्नुपर्ने, यस सम्बन्धमा व्यापक अध्ययन–अनुसन्धान गर्नुपर्ने, त्यस क्रममा वातावरणमैत्री नीति निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
ज्ञानशालाका समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा डा. कौशिला रिसाल, विमल पोखरेल, समीर सिंह, प्रकाश थापामगर, भक्ति लामिछाने, कमलहरि जिसीलगायतले पूरक जिज्ञासा गर्नुभएको थियो ।
कार्यक्रमको समापन ज्ञानशालाका अध्यक्ष भोला ढकाले आफ्नो मन्तव्यसँगै गर्नुभएको थियो ।