काठमडौं । शिक्षामन्त्री सस्मित पोखरेलले ब्रिज कोर्सका कक्षा बन्द गराउन जारी गरे लत्तै रास्वपा सांसद सुलभ खरेलले विरोध गरेका छन् । खरेलको ब्रिज कोर्स गराउने संस्था भएको बताइन्छ ।
पार्टी र पार्टी बाहिर निजी क्षेत्रमा विरोध आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेब साइटबाट हटाइएको थियो ।
सोही इन्स्टिच्युटमा अध्ययनरत एक विद्यार्थीका अनुसार ‘माननीय सुलभ खरेलको प्लेटे इन्स्टिच्युट छ । यसले पाँच वर्षको बीए एलएलबी कार्यक्रमको ब्रिज कोर्स तयारी कक्षा चलाउँछ ।’
सामाजिक सञ्जालमा खरेलका दाजु ज्योति खरेलले पनि ब्रिज कोर्स बन्द गर्न लागिएको शिक्षा मन्त्रालयको सूचनामा आपत्ति जनाएर आइतबारै सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका छन् । खरेलले भनेका छन्, ‘मेरो स्पष्ट धारणा छ– १० प्लस २ सम्मको भर्नालाई सरल र इन्ट्रान्समुक्त बनाऔँ । तर, डाक्टर, इन्जिनियर र अफिसर बन्ने सपना बोकेका किसानका छोराछोरीको लागि इन्ट्रान्स कोचिङ बन्द गर्नु भनेको उनीहरूको सफलताको ढोका बन्द गर्नु हो ।’
ब्रिज कोर्स संस्था सञ्चालनबारेमा सांसद सुलभ खरेलले कुनै प्रतिक्रिया दिएका छैनन् ।
