• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

फागुन २१ गतेको परिणाम इतिहासकै गम्भीर र अवाञ्छित

"नेकपा (मसाल) द्वारा पत्रकार सम्मेलन "

  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले फागुन २१ गतेको निर्वाचन परिणामलाई इतिहासकै गम्भीर र अवाञ्छित बताएको छ ।
    २०८२ फागुन ८ गते आइतबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन सम्पन्न गर्दै मसालले यस्तो धारणा अघि सारेको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा फागुन ५ र ६ गते पार्टी केन्द्रीय समितिको बैठक बसेको र सोही बैठकको निर्णय सार्वजनिक गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिइएको थियो ।

    “फागुन २१ गते आम चुनाव सम्पन्न भयो” सम्मेलनमा वितरण गरि प्रेसविज्ञप्तिमा अगाडि भनिएको छ– “त्यो चुनावको जुन परिणाम अगाडि आएको छ, त्यो नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै सबैभन्दा गम्भीर र अवाञ्छित परिणाम हो ।”

    विज्ञप्तिमा अगाडि भनिएको छ– “त्यो नेपालका लागि राणाशासन तथा राजाको निरङ्कुश शासन र पञ्चायती शासनभन्दा गम्भीर अभिशापको रूपमा अगाडि आएको छ ।”

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षता तथा केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ महामन्त्री सिंह र अध्यक्ष केसीले दिनुभएको थियो ।

    -जेनजीको आन्दोलन स्वतःस्फूर्त तर गैरजेनजीको लामो र योजनाबद्ध तयारी
    – अमेरिकाको नेपालमा कठपुतली सरकार कायम गर्ने रणनीतिअनुसार नै चुनाव
    – एमसिसी स्वीकार गर्न तयार भए पनि एसपिपी पारित गर्न पुराना दल असहमत
    – अहिले अमेरिकी तत्वलाई अत्यधिक समर्थनका पछाडि लोकप्रियतावादको असर
    – अहिलेको आम चुनावमा राजावादी शक्ति ठुलो पैमानामा असफल भएको स्पष्ट
    – साम्राजवादी स्वार्थ पूरा गर्न सरकार उलटफेर अमेरिकाको विश्वव्यापी रणनीति
    – भदौ २३ गतेको गोली प्रहार, आन्दोलनलाई उक्साउने तत्व र भदौ २४ गतेको ध्वंसका लागि जिम्मेवार तत्वमाथि कडा र न्यायोचित कारबाही आवश्यक
    – भदौ २४ गतेको ध्वंसका लागि जिम्मेवार व्यक्तिहरू ठुलो सङ्ख्यामा संसद्मा सामेल
    – जनताको निर्णयात्मक भूमिका सही राजनीतिक चेतनाको आधारमा मात्रै सम्भव

    जेनजी आन्दोलन, फागुन २१ गतेको निर्वाचन, कार्की आयोगको प्रतिवेदनलगायत विभिन्न विषयमा प्रकाश पारिएको उक्त प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :

    १. सर्वप्रथम नेकपा (मसाल) को तर्फबाट हामीले यो पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकार मित्र, अतिथि तथा सहभागीलाई हार्दिक अभिनन्दन गर्न चाहन्छौँ । तपाईंँहरूलाई यो बताउँदा हामीलाई खुसी लागिरहेको छ कि हालै नेकपा (मसाल) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो । त्यसले नेपालको आम चुनाव र तात्कालिक राजनीतिक परिस्थितिसमेतको मूल्याङ्कन गरेर “तात्कालिक राजनीति प्रस्ताव” (सन्दर्भ चुनावको मूल्याङ्कन र कथित जेनजीको भूमिकाको मूल्याङ्कन) पारित गरेको छ । त्यो प्रस्ताव पनि यहाँ तपाईंहरूका अगाडि बेग्लै प्रस्तुत गरिएको छ । त्यसबाट अहिले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीले गरेको व्याख्या र विश्लेषणबारे तपाईंहरूलाई जानकारी हुनेछ ।

    २. देशको अहिलेको राजनीतिक स्थितिलाई ठिकसँग बुझ्‌नका लागि सर्वप्रथम जेनजी तथा कथित जेनजीका बिचको अन्तरलाई हामीले ठिकसँग बुझ्‌नुपर्ने आवश्यकता छ । भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलन सही र न्यायपूर्ण थियो । जेनजी भन्नाले एउटा खास उमेर समूहका युवा नै आउँछन् । सामान्यतः त्यसको अर्थ २८ वर्षको उमेरसम्मका युवा नै आउँछन् । नेपालमा उनीहरूले चलाएको आन्दोलन भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध नै थियो । त्यसैले त्यो सही र न्यायपूर्ण पनि थियो तर उनीहरूको त्यो आन्दोलनलाई कथित जेनजी वा गैरजेनजी तत्वको “हाइज्याक” गरेर अमेरिकी साम्राज्यवादको सेवामा प्रयोग गरेका थिए । यहाँ हामीले कथित जेनजी वा गैरजेनजी भनेर ती तत्वलाई नै लिएका छौँ, जो २८ वर्षको उमेरभन्दा माथिका व्यक्ति थिए र जो स्वयम् जेनजी थिएनन् । उनीहरूले नै त्यो आन्दोलनलाई नेतृत्व गरेको दाबी गरिरहेका छन् ।

    जेनजीको आन्दोलन स्वतःस्फूर्त थियो तर गैरजेनजीले लामो समयदेखि त्यसका लागि योजनाबद्ध प्रकारले तयारी गरिरहेका थिए र जेनजीको स्वतःस्फूर्त आन्दोलनलाई उनीहरूले आफ्‌ना निजी स्वार्थको पक्षमा उपयोग गर्न प्रयत्न गरेका थिए । त्यसमा उनीहरू सफल पनि भएका थिए । आफ्‌नो कुनै सिद्धान्त, राजनीतिक लाइन, सङ्गठन वा नेतृत्वसमेत नभएको हुनाले जेनजी सजिलैसित उनीहरूको प्रभावमा पर्न गए र देशमा त्यसका गम्भीर प्रकारका परिणाम पनि भएका छन् । त्यस प्रकारको अवाञ्छित परिणाम अहिले चुनावको परिणामका रूपमा अगाडि आएको छ ।
    ३. फागुन २१ गते आम चुनाव सम्पन्न भयो । त्यो चुनावको जुन परिणाम अगाडि आएको छ, त्यो नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै सबैभन्दा गम्भीर र अवाञ्छित परिणाम हो । त्यो नेपालका लागि राणाशासन तथा राजाको निरङ्कुश शासन र पञ्चायती शासनभन्दा गम्भीर अभिशापको रूपमा अगाडि आएको छ । राणाशासन वा राजाको निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था देशभित्रका नै प्रतिक्रियावादी व्यवस्था थिए । निश्चय नै तिनीहरूमा पनि प्रतिगामी व्यवस्था थिए र तिनीहरूका विरुद्ध जनताले ठुलो सङ्घर्ष गरेर तिनीहरूलाई समाप्त गर्नुपरेको थियो । अहिले पनि एक वा अर्को प्रकारले प्रतिगमनले अगाडि आउने प्रयत्न गरिरहेको छ र हामीले तिनीहरूको पुनर्स्थापनालाई रोक्न सङ्घर्ष गर्नुपर्नेछ तर अहिले चुनावको परिणामस्वरूप देशमा जुन खतरा अगाडि आएको छ, त्यो पहिलेका सबै प्रतिक्रियावादी व्यवस्थाभन्दा गम्भीर रहेको छ र त्यसका दीर्घकालीन प्रकारका दुष्परिणाम हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले चुनावद्वारा जुन परिणाम अगाडि आएको छ, त्यो स्पष्ट र निश्चित रूपले अमेरिकी साम्राज्यवादको नेपालमा आफ्‌नो कठपुतली सरकार कायम गर्ने योजनाअन्तर्गत नै अगाडि आएको छ र त्यसका पछाडिको अमेरिकाको उद्देश्य नेपाल वा नेपालको भूमिलाई आफ्‌ना अन्तर्राष्ट्रिय उद्देश्यको पक्षमा उपयोग गर्नु नै हो ।

    ४. अहिले नेपालमा जुन चुनाव सम्पन्न भयो, त्यो नेपालको संविधान, राजनीतिक व्यवस्था वा जनताको मागअनुसार भएको चुनाव नै होइन । त्यो चुनाव अमेरिकाको नेपालमा आफ्‌नो कठपुतली सरकार कायम गर्ने रणनीतिअनुसार नै भएको हो । त्यसैको लागि संसद् विघटन गरियो र नयाँ चुनाव घोषणा गरियो । अमेरिकी साम्राज्यवादका सबै स्रोत र शक्तिको प्रयोग गरेर चुनावमा अमेरिकाद्वारा परिचालित तत्वलाई विजय बनाउन पूरा प्रयत्न गरियो । त्यसैको परिणाम हो कि त्यो चुनावबाट उनीहरूको करिब दुईतिहाइ बहुमत प्राप्त भएको छ ।

    नेपालमा पहिले पनि अमेरिकापरस्त तत्व सरकारमा थिए । उनीहरूको त्यस प्रकारको चरित्रका कारणले नै उनीहरू एमसिसीलाई पनि संसद्द्वारा पारित गर्न तयार भएका थिए तर उनीहरूको अमेरिकापरस्त चरित्रले पनि अमेरिकी साम्राज्यवादको पूरै रणनीतिक आवश्यकतालाई पूरा गर्दैनथ्यो । उनीहरू एमसिसी स्वीकार गर्न तयार भए पनि एसपिपी पारित गर्न तयार भएका थिएनन् । उनीहरूले एक चीनको नीतिलाई अपनाएका थिए । उनीहरूको त्यो नीतिले स्वतन्त्र तिब्बत वा त्यहाँ दलाई लामाको पुनर्स्थापनासित मेल खाँदैनथ्यो । त्यसैले अमेरिकाको दृष्टिकोणमा उनीहरू अस्थिर र ढुलमुल तत्व थिए । त्यसैले उनीहरूलाई विस्थापित गर्ने नीति अपनाइयो र कथित जेनजीद्वारा जेनजीको न्यायपूर्ण आन्दोलनलाई “हाइज्याक” गरेर नेपालमा आफ्‌नो कठपुतली सरकार कायम गर्ने नीति अपनाइयो ।

    ५. अहिले अमेरिकाद्वारा परिचालित जुन तत्वलाई जनताको अत्यधिक समर्थन प्राप्त भएको छ, त्यो जनताको वास्तविक समर्थन होइन । त्यो वास्तवमा लोकप्रियतावादको असर हो । हामीले संसारका विभिन्न देशका उदाहरणको चर्चा नगरौँ । स्वयम् नेपालको कुनै राजनीतिक इतिहासको चर्चा गर्ने हो भने पनि देशमा कैयौँपल्ट यस्ता अवसर आउँछन्, जुन बेला जनताको चेतना कुण्ठित वा विकृत हुन पुग्दछ र त्यसबाट प्रतिक्रियावादी शक्तिलाई नै मदत पुग्दछ । राणाकालमा पनि जनताले त्यो बेलाका शासक वर्गलाई समर्थन गरेका थिए र त्यसको परिणामस्वरूप राणाशासन १०४ वर्षसम्म टिक्न सकेको थियो । जनताको चेतना कुण्ठित वा विकृत भएको हुनाले नै निरङ्कुश राजतन्त्र र पञ्चायती शासन पनि ३० वर्षसम्म कायम रहन सकेको थियो तर जब जनताको चेतना सही रूपमा प्रकट हुन्छ । त्यस प्रकारका सबै प्रतिक्रियावादी व्यवस्था ढल्दछन् । त्यसकारण जनताको समर्थनलाई हामीले कहिल्यै पनि निरपेक्ष रूपमा लिनु हुँदैन । कुन बेला त्यो कुण्ठित हुन्छ वा कुन बेला त्यो जागृत हुन्छ ? त्यो निर्णयात्मक महत्वको कुरा हो । अहिले पनि देशमा अमेरिकी साम्राज्यवाद वा त्यसका सामाजिक सञ्जाल र सञ्चारमाध्यम तथा कथित जेनजीको प्रभावका कारणले जनमत धेरै नै कुण्ठित हुन पुग्यो वा लोकप्रियतावाद हावी हुन पुग्यो । त्यसैको परिणाम हो कि अमेरिकाद्वारा सञ्चालित तत्व वा कथित जेनजी बहुमतका आउन सफल भए ।

    पुराना राजनीतिक पार्टीले देशमा बहुदले व्यवस्था आएपछि वा गणतन्त्र कायम भएपछि पनि जसरी भ्रष्ट नीति अपनाउँदै गए, देशमा कुशासन कायम भयो र देशको विकास कुण्ठित भयो, त्यो कारणले जनतामा उत्पन्न असन्तोष र निराशाले पनि लोकप्रियतावादी जनमतलाई बल पुर्‍यायो । जनताको त्यस प्रकारको असन्तोष वा निराशालाई सही र अग्रगामी दिशा दिन सक्ने काम हुन सकेन । त्यसको परिणामस्वरूप जनतामा देखापरेको असन्तोष र निराशालाई प्रतिगामी शक्तिले उपयोग गरेर देशलाई पुनः प्रतिगमनतिर लैजाने प्रयत्न गरेका थिए । त्यसका लागि अहिले पनि प्रयत्न गरिरहेका छन् तर त्यो दौडमा अमेरिकी साम्राज्यवाद अगाडि आयो र त्यसले नेपालमा आफ्‌नो कठपुतले सरकार कायम गर्न आधार तयार पार्न सफल भयो । चुनावमा राजावादीको पहिलेको तुलनामा पनि संसद्मा जुन ठुलो हार भयो, त्यसबाट उनीहरू ठुलो पैमानामा असफल भएको कुरा स्पष्ट छ ।

    आफ्‌ना साम्राजवादी स्वार्थ पूरा गर्न विभिन्न देशका सरकारमा फेरबदल वा उलटफेर गर्ने अमेरिकी विश्वव्यापी रणनीति रहेको छ । हालैका घटनामा त्यसले भेनेजुयला र इरानमा चालेका कदम उल्लेखनीय छन् । भेनेजुयलामा आक्रमण गरेर त्यसले त्यहाँको राष्ट्रपतिलाई नै अपहरण गरियो भने इरानमा पनि आक्रमण गरेर त्यहाँ सत्ता परिवर्तन गर्ने प्रयत्न गरिरहेको छ र आफ्‌नो त्यो नीतिबारे त्यसले खुला प्रकारले नै बाहिर ल्याएको छ तर इरानी जनताको वीरतापूर्ण प्रतिरोधनीतिका कारणले त्यहाँ त्यसको नीति सफल हुन सकेको छैन तर नेपालमा चुनावको माध्यमद्वारा नै त्यसले आफ्‌नो कठपुतली सरकार कायम गर्ने नीति सफल पार्दैछ । छिट्टै नेपालमा त्यस प्रकारको सरकार कायम हुँदैछ । बताइरहनुपर्ने आवश्यकता छैन कि नेपालका लागि त्यो अत्यन्त घातक कुरा हो र त्यसका दीर्घकालीन परिणाम हुने सक्नेछन् ।

    ६. भदौ २३ र २४ गतेका हिंसात्मक घटनाको छानबिन गर्नको लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो र त्यसले आफ्‌नो प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ तर त्यो प्रतिवेदन अझै सार्वजनिक भएको छैन र स्वयम् जेनजीले पनि त्यसलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । त्यो प्रतिवेदन अझै सार्वजनिक नगरेको हुनाले त्यो आयोगले कहाँसम्म निष्पक्ष, न्यायोचित वा निर्भिकतापूर्वक भदौ २३ र २४ गतेका घटनाको छानबिन गरेको छ ? त्यो प्रतिवेदन सार्वजनिक भएपछि नै थाहा हुनेछ । त्यो कुरा के भए पनि भदौ २३ र २४ गतेका घटनाबारे सही दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता छ । प्रथमः भदौ २३ गते सामान्य र कलिला छात्रछात्रमाथि जुन निर्ममतापूर्वक हत्या गरियो, त्यो अत्यन्त जघन्य र क्रूर अपराध हो । त्यो बेला विद्यार्थीलाई छाती र टाउकोमा समेत ताकी ताकी गोली हान्ने काम गरिएको छ, त्यस प्रकारका क्रूर, अमानवीय र बर्बर अत्याचारका लागि जिम्मेवार दोषीमाथि कडा र न्यायोचित कारबाही गर्नुपर्ने आवश्यकता छ ।

    त्यससित जोडिएको अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । जिनजीहरूले आफ्‌नो आन्दोलन शान्तिपूर्ण भएको बताएका थिए भने त्यसले हिंसात्मक रूप लिन थालेपछि आन्दोलनकारीलाई फर्केर जान पनि आह्‌वान गरेका थिए । त्यसरी स्पष्ट छ, जेनजीहरू त्यो दिनको तोडफोड वा हिंसात्मक गतिविधिका लागि जिम्मेवार थिएनन् । त्यो अवस्थामा यो प्रश्न उठाउने ठाउँ छ : त्यो दिनको आन्दोलनलाई तोडफोड वा हिंसात्मक कार्यका लागि उक्साउने तत्व को थिए ? उनीहरूबारे पनि छानबिन गरेर उनीहरूमाथि पनि कारबाही गरिनुपर्दछ । भदौ २४ गते देशव्यापी रूपमा जुन तोडफोड, आगलागी वा ध्वंसात्मक कार्य भए त्यो कार्य जेनजीद्वारा गरिएका थिएनन् र उनीहरूद्वारा हुन पनि सक्दैनथ्यो । त्यस प्रकारका अपराधजन्य कार्यका लागि तालिमप्राप्त व्यक्तिद्वारा नै हुन सक्दथे । त्यसका लागि लामो पूर्व तयारीको आवश्यकता थियो । स्पष्ट छ कि सिआइए, “रअ”, कथित जेनजी, राजावादी र सामाजिक अपराधीले नै त्यस प्रकारका ध्वंसात्मक कार्य गरेको कुरा स्पष्ट छ । के जाँचबुझ आयोगले ती सबैबारे पनि निष्पक्ष तरिकाले छानबिन गरेर तिनीहरूका विरुद्ध न्यायचित र निर्भीकतापूर्वक सिफारिस गरेको छ ? हाम्रो जोड भदौ २३ गते युवामाथिको गोली प्रहारका लागि जिम्मेवार दोषी, त्यो दिनको जेनजीको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने तत्व र भदौ २४ गतेको तोडफोड आगलागी र ध्वंसात्मक कार्यका लागि जिम्मेवार तत्वसमेतका विरुद्ध कडा र न्यायचित कारबाही गर्नुपर्छ भन्ने कुरामा छ ।

    ७. जेनजीको नाममा जुन कथित जेनजी अगाडि आएका छन् र अहिले सत्तामा जाने तयारीसमेत भइरहेको छ । उनीहरू राजनीतिक व्यक्तित्व नै होइनन् । राजनीतिक व्यक्तित्व, नेता वा कार्यकर्ता भन्नाले उनीहरू नै हुन्छन् जो देश र जनताको सेवाको लागि पूरै समर्पित हुन्छन् तथा त्यसका लागि सबै प्रकारका सङ्घर्ष, त्याग र बलिदान गर्न पनि तयार हुन्छन् । नेपालको राजनीतिलाई भ्रष्टीकरण गर्ने काम पनि अत्यधिक रूपमा भएको छ । कैयौँ पार्टीका नेता वा कार्यकर्ताले व्यक्तिगत पेसा, फाइदा र भ्रष्टाचारसमेतका लागि राजनीतिक पार्टी वा राजनीतिको दुरूपयोग गर्ने गरेका छन् । त्यसैले जनताको पनि राजनीति वा राजनीतिक पार्टीमाथि वितृष्णा बढ्दै गएको पाइन्छ । संसारमा र नेपालमा पनि जुन महत्वपूर्ण राजनीतिक परिवर्तन भएका छन्‌† ती कार्य राजनीतिक पार्टीद्वारा नै हुने गरेका छन् र त्यसका लागि राजनीतिक नेता वा कार्यकर्ताको लामो योगदान वा इतिहास भएको आम रूपमा थाहा भएको कुरा हो तर अहिले कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएका व्यक्ति देशको राजनीतिमा हावी हुन थालेको देखिएको छ । यस प्रकारका व्यक्तिमा कथित जेनजी वा अमेरिकी साम्राज्यवादद्वारा परिचालित तत्वको ठुलो सङ्ख्या छ । तिनीहरूमध्ये भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने वा भदौ २४ गतेको देशव्यापी तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरू पनि ठुलो सङ्ख्यामा सामेल भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यदि त्यस प्रकारका तत्व नै सत्तामा जान्छन् भने त्यो अवस्थामा देशमा शान्ति, सुव्यवस्था, सुशासन वा विकासमा मदत पुग्ने होइन, देशमा गम्भीर प्रकारको अवस्था अराजकता वा दण्डहीनताको स्थिति नै उत्पन्न हुने बढी सम्भावना रहनेछ । युक्रेनमा कुनै राजनीतिक चरित्र वा पृष्ठभूमि नभएको जेलेन्स्कीजस्तो व्यक्ति सत्तामा जाँदा त्यहाँ युद्ध र विनाशको स्थिति उत्पन्न भएको उदाहरण हाम्रा अगाडि छ । नेपालमा पनि त्यस प्रकारको स्थिति उत्पन्न हुने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    आखिरमा देश कुन दिशामा जान्छ ? त्यसका लागि निर्णयात्मक व्यक्ति जनता नै हुन् तर जनताले सही भूमिका त्यो बेला नै खेल्न सक्दछन् जब उनीहरूमा सही राजनीतिक चेतना हुन्छ तर जनताको चेतना एक वा अर्को प्रकारले विकृत हुन गयो भने लोकप्रियतावादी जनमत हाबी हुन्छ र त्यसबाट लोकप्रियतावादी शक्तिलाई नै मदत पुग्दछ । संसारमा धेरै देशमा त्यस्तो हुँदै आएको छ । त्यस प्रकारको लोकप्रियतावादी मतले नै जर्मनीमा हिटलर विजय भएको थियो र स्वयम् जर्मनी र विश्वमा पनि त्यसको कति भयानक परिणाम भएको थियो ? विश्वको इतिहास त्यसको साक्षी छ । अहिले नेपालमा पनि त्यस प्रकारको लोकप्रियतावादी जनमत भएको हुनाले नै गै जेनजी वा अमेरिकाद्वारा सञ्चालित तत्व चुनावमा ठुलो परिमाणमा विजय हुन पुगेका छन् । त्यसको अन्तिम समाधान भनेको जनताको उच्च प्रकारको राजनीतिक चेतना नै हो । देशमा त्यस प्रकारको चेतना उठाउनका लागि हामीले योजनाबद्ध र सङ्गठित रूपले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.