काठमाडौँ । अखिल छैठौँकी पूर्व केन्द्रीय सदस्य प्रतिभा पौडेल त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको राजनीति शास्त्र विषयमा सर्वोत्कृष्ट बनेकी छिन् । एमए राजनीति शास्त्रमा विश्विद्यालयको गोल्ड मेडलिस्ट भएर उनले पदक र पुरस्कार हात पारेकि छिन् ।
बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीतिशास्त्र केन्द्रीय विभागबाट एमए गरेकी पौडल विभागमै एमफिलकी विद्यार्थी समेत हुन् ।
वर्तमानमा अखिल छैठौँबाट अलग भएर रहेकी छिन् । विद्यार्थी राजनीति गर्दै पढ्दै गएको र अबचाँहि सक्रिय राजनीतिभन्दा पनि प्राज्ञिक क्षेत्रमा उभिने मन रहेको पौडेलले बताइन् ।
कीर्तिपुरबासी पौडेलले २०७० सालमा काठमाडौँको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा कक्षा १२ पास गरेकी थिइन् । उनले त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरेकी छिन् । विज्ञानकी छात्रा पौडेल त्यसपछि भने राजनीति शास्त्रतर्फ मोडिएकी हुन् ।
अखिल छैठौँको सांगठनिक अभियान अन्तर्गत रहेर विद्यार्थी संगठनमा काम गर्दा विद्यार्थी हकहितको कुरा उठाएको पौडेलको भनाई छ ।
पौडेलले राजनीति गर्ने विद्यार्थीले पढ्दैनन् भन्ने भाष्यलाई पनि चुनौती दिएकी छिन् । केही विद्यार्थी नेताहरू वैचारिक बहसबाट बरालिएर स्वार्थमा लागेकाले त्यस्तो भाष्य बन्न पुगेको पौडेलको तर्क छ ।