काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी भदौ महिना मात्रै करिक ३३ अर्ब रुपियाँ विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपियाँ लगेका हुन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २८ अर्ब २० करोड रुपियाँ थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रुपियाँ रहेको थियो ।
यस्तै, खुद सेवा आय ३१ अर्ब १६ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोड रुपियाँले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रुपियाँ रहेको थियो ।