ओटावा । क्यानडाको चुनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्रम्पका विरोधी प्रधानमन्त्री मार्क कार्नीले सोमबार चुनाव जित्नुभएको छ ।
सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटले लिबरलले क्यानडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन ।
कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल हुनुभयो तर उहाँको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।
पहिले कहिल्यै निर्वाचित पदमा नरहनुभएका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गर्नुभएका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैङ्कको गभर्नरका रूपमा सेवा गर्नुभएको थियो ।
ट्रम्पको व्यापारयुद्ध र विलयको धम्कीले क्यानाडालीलाई आक्रोशित बनायो र अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।
६० वर्षीय पूर्व लगानी बैङ्कर कार्नीले आफ्नो अभियान ट्रम्प विरोधी सन्देशमा आधारित गर्नुभयो । अमेरिकामाथिको निर्भरता कम गर्न क्यानडाको विदेशी व्यापार सम्बन्ध विस्तार गर्ने वाचा गर्नुभयो र भन्नुभयो– ‘अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।’
कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दमा वर्णन गर्नुभएको छ ।
‘डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहनुहुन्छ ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्’, उहाँले चुनावी अभियानमा भन्नुभयो– ‘उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ । उनीहरूलाई हाम्रो पानी चाहिन्छ । उनीहरूलाई हाम्रो जमिन चाहिन्छ । उनीहरूलाई हाम्रो देश चाहिन्छ तर उनीहरूले त्यो पाउन सक्दैनन् ।’
जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए ।
‘म यस अर्थमा खुसी छु कि हामीले ट्रम्पसँग उहाँको स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ’ ७२ वर्षीया डोरोथी गोबल्टले भन्नुभयो– ‘ट्रम्प एक व्यापारी व्यक्ति हुनुहुन्छ । कार्नी एक व्यापारी व्यक्ति हुनुहुन्छ र मलाई लाग्छ उहाँहरू दुवै सम्बन्धित हुन सक्नुहुन्छ ।’
ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उहाँको उपहास गर्नुभएको थियो र प्रधानमन्त्रीलाई गभर्नर भन्दै क्यानडालाई एकाउन्नौँ अमेरिकी राज्य बन्न आग्रह गर्नुभएको थियो ।
गोबल्टले त्यो उपहास बन्द हुने अपेक्षा गरेको बताउनुभयो । ‘यो अब गभर्नर होइन, यो क्यानडाको प्रधानमन्त्री हो र यो अब एकाउन्नौँ राज्य होइन । यो हामी क्यानडा हौँ ।’
लिबरल विधायक र कार्नीको क्याबिनेटका सदस्य स्टिभन गिलबेल्टले परिणामलाई ट्रम्पसँग जोड्नुभयो ।
‘राष्ट्रपति ट्रम्पद्वारा क्यानडाको अर्थतन्त्रमा मात्र नभई अर्थतन्त्र, हाम्रो सार्वभौमिकता र हाम्रो पहिचानमा भएका थुप्रै आक्रमणले क्यानाडालीलाई साँच्चिकै परिचालन गरेको छ र मलाई लाग्छ, उनीहरूले प्रधानमन्त्री कार्नीमा विश्व मञ्चमा अनुभव भएको, अर्थतन्त्रको अनुभव भएको व्यक्ति देखेका छन्’ उहाँले सिबिसीलाई भन्नुभयो ।
कार्नीले सन् २००८–०९ को आर्थिक सङ्कटमा बैङ्क अफ क्यानडाको नेतृत्व गर्नुभएको थियो र सन् २०१६ को ब्रेक्जिट मतदानमा आएको उथलपुथलमा बैङ्क अफ इङ्गल्यान्डको नेतृत्व गर्नुभएको थियो ।
क्यानडाको चार करोड १० लाख जनतामध्ये करिब दुई करोड ९० लाख छओटा समय क्षेत्र फैलिएको विशाल जी–७ देशमा मतदान गर्न योग्य थिए ।
बहुमतका लागि एक सय ७२ सिट आवश्यक रहेको क्यानाडाको तीन सय ४३ सदस्यीय संसद्को नतिजा अझै आउन बाँकी छ । लिबरलले सन् २०१५ मा बहुमत प्राप्त गरे तर सन् २०१९ देखि अल्पसङ्ख्यकसँग मिलेर शासन गर्दै आएका छन् । (रासस/एएफपी)